खुम्बु ल्होसार कप २०२६ फेब्रुअरी ७ देखि, आठ टिमको सहभागिता – Sagarmathapana:: Online News Portal

खुम्बु ल्होसार कप २०२६ फेब्रुअरी ७ देखि, आठ टिमको सहभागिता

   २०८२ माघ १३ गते  

काठमाडौँ।शेर्पा समुदायको सबैभन्दा ठूलो र प्रतिष्ठित फुटबल प्रतियोगिता खुम्बु ल्होसार कप २०२६ फेब्रुअरी ७ देखि सुरु हुने भएको छ।प्रतियोगिताको यो संस्करण १५औँ संस्करण हो।

ल्होसार (शेर्पा नयाँ वर्ष) पर्वको अवसर पारेर आयोजना हुँदै आएको यो प्रतियोगिता पछिल्ला १८ वर्षदेखि निरन्तर हुँदै आएको छ । यस वर्षको प्रतियोगिता महेंद्र ज्योति पूर्व विद्यार्थी फोरम, फराक को आयोजनामा हुन लागेको हो।

आयोजक संस्थाका अध्यक्ष फुर गेल्जे शेर्पाका अनुसार खुम्बु ल्होसार कपको सुरुआत सन् २००९ मा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका विभिन्न गाउँबाट काठमाडौँ आएका शेर्पा युवाहरूको पहलमा गरिएको थियो । जाडोयामको फुर्सदिलो समयलाई सदुपयोग गर्दै शेर्पा युवामाझ फुटबलको विकास गर्ने उद्देश्यले प्रतियोगिता सुरु गरिएको उनले बताए।

यस प्रतियोगिताको मुख्य उद्देश्य नियमित फुटबल अभ्यासलाई प्रोत्साहन गर्नु, प्रतिस्पर्धात्मक खेल वातावरण सिर्जना गर्नु, नवप्रतिभाको पहिचान गर्नु तथा शेर्पा समुदायबीच एकता र सहकार्य बढाउनु रहेको आयोजकको भनाइ छ।

मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शेर्पाले विगत केही कारणले स्थगित हुँदै आएको १५औँ खुम्बु ल्होसार कप फेब्रुअरी ७ देखि १५ सम्म ललितपुरको सातदोबाटोस्थित एन्फा फुटबल मैदान मा आयोजना हुने जानकारी दिए।प्रतियोगितामा सहभागी टिमहरूले प्रशिक्षण सुरु गरिसकेको पनि उनले बताए ।

यस वर्षको प्रतियोगितामा आठ टिम सहभागी हुनेछन् । सहभागी टिमहरू यसप्रकार छन्–

महेंद्र ज्योति पूर्व विद्यार्थी फोरम, फराक

नाम्चे युवा समूह, नाम्चे

खुम्जुङ युवा क्लब, खुम्जुङ

खुन्दे कम्युनिटी क्लब, खुन्दे

थामिचोवा फुटबल क्लब, थामे

आमादब्लाम युवा समूह, पाङ्बोचे

खुम्बु याम्बु शेर्पा समाज

खुम्बु युनाइटेड

प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५० हजार रुपैयाँ, उपविजेताले ८० हजार रुपैयाँ तथा तेस्रो स्थान हासिल गर्ने टिमले ४० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

त्यसैगरी प्रतियोगिताका क्रममा सोलुखुम्बुकी स्थायी बासिन्दा तथा नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी खेलाडी प्रिती राई लाई विशेष सम्मान प्रदान गरिने आयोजकले जनाएको छ।

अध्यक्ष शेर्पाका अनुसार खुम्बु ल्होसार कपले खेलकुदसँगै पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ।खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने हाम्रो लक्ष्य हो,उनले भने,यस प्रतियोगिताले खुम्बु क्षेत्रका समुदायहरूलाई फुटबलमार्फत एकतामा बाँध्ने काम गरेको छ।

सन् २०२५ मा विभिन्न कारणले प्रतियोगिता आयोजना हुन नसकेको उल्लेख गर्दै उनले २०२६ मा एन्फा मैदानमा भव्य रूपमा आयोजना गर्ने निर्णय गरिएको बताए ।


खुम्बु ल्होसार कप २०२६ का लागि १४ पिक्स एक्सपेडिसन प्रालि लाई शीर्ष प्रायोजक घोषणा गरिएको छ भने हेली एभरेष्ट प्रालि र खुम्बु पासाङल्हामु गाउँपालिका सह–प्रायोजकका रूपमा रहेका छन् । प्रतियोगितालाई अन्य विभिन्न संघ–संस्था तथा प्रायोजकहरूले पनि सहयोग गरिरहेका छन् ।

खेल र संस्कृतिको संगमका रूपमा स्थापित हुँदै गएको खुम्बु ल्होसार कपले आगामी दिनमा अझ परिस्कृत र प्रभावकारी रूप लिने आयोजकको विश्वास छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै