अन्तर्राष्ट्रिय साझेदारी र पर्यटन विस्तारका लागि फितुर ऐतिहासिक अवसर:पर्यटन सचिव निरौला – Sagarmathapana:: Online News Portal

अन्तर्राष्ट्रिय साझेदारी र पर्यटन विस्तारका लागि फितुर ऐतिहासिक अवसर:पर्यटन सचिव निरौला

   २०८२ माघ १३ गते  

काठमाडौं।युरोपकै सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय पर्यटन मेला फितुर २०२६ मा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको छवि थप सुदृढ बनाउनुका साथै पर्यटन व्यापार र साझेदारी विस्तारका लागि ऐतिहासिक अवसर सिर्जना गरेको पर्यटन सचिव मुकुन्दप्रसाद निरौलाले बताएका छन्।

स्पेनको म्याड्रिडमा जनवरी २१ देखि २५, २०२६ सम्म सम्पन्न फितुरको ४६औँ संस्करणले नेपाललाई पश्चिम युरोपेली बजारमा विविध पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको सचिव निरौलाको भनाइ छ।

फितुर २०२६ मा नेपाल पर्यटन बोर्ड (एनटीबी) र नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्सीज (नाट्टा) को संयुक्त सहकार्यमा ३० वटा नेपाली ट्राभल, टुर तथा पर्यटन उद्यमी संस्थाहरूको सहभागिता रहेको थियो। मेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव निरौला, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीसहित उच्चस्तरीय अधिकारीहरूको उपस्थिति रहेको थियो।

नेपाल पभेलियन उद्घाटन समारोहमा सम्बोधन गर्दै सचिव निरौलाले नेपाली पर्यटन व्यवसायीहरूलाई बधाई दिँदै यस्ता अन्तर्राष्ट्रिय अवसरहरूको अधिकतम सदुपयोग गर्नुपर्ने आवश्यकता औँल्याए। सो अवसरमा बोर्डका सीईओ जोशीले नेपाल केवल ट्रेकिङ र पर्वतारोहणको गन्तव्य मात्र नभई संस्कृति, जातीय विविधता, भाषा, जैविक विविधता तथा दिगो पर्यटनका दृष्टिले पनि उत्कृष्ट गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय बजारमा परिचित हुँदै गएको बताए।


मेलाको दोस्रो दिन आयोजना गरिएको ‘नेपाल कनेक्ट’ नेटवर्किङ कार्यक्रममा ५० भन्दा बढी अन्तर्राष्ट्रिय टुर अपरेटरहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सचिव निरौलाले विदेशी व्यवसायीहरूलाई नेपाली पर्यटन उद्यमीहरूसँग सहकार्य गर्न आग्रह गर्दै गुणस्तरीय सेवा र सुरक्षित पर्यटनको सुनिश्चितता व्यक्त गरे। उक्त कार्यक्रममा स्पेनस्थित नेपाली दूतावास, यूएन टुरिजम्, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, ब्लगर, भ्लगर तथा इन्फ्लुएन्सरहरूको उल्लेखनीय उपस्थिति थियो।

नेपाल पभेलियनमा मेलाका अन्तिम दुई दिन आयोजना गरिएको नेपाली सांस्कृतिक कार्यक्रम दर्शकका लागि प्रमुख आकर्षण बनेको थियो। नेपाली नृत्य, गीत, संगीत तथा सांस्कृतिक प्रस्तुतिले ठूलो संख्यामा दर्शक तानेको थियो भने छिमेकी देश मलेसियाका कलाकारहरूको सहभागिताले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो।

यस वर्षको फितुर २०२६ मा विश्वका ६१ देशबाट करिब १० हजार कम्पनीहरूको सहभागिता रहेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ५ प्रतिशतले वृद्धि भएको आयोजकहरूले जनाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै