बुढी खोलामा चिप्लेटी खेल्ने आन्तरिक पर्यटक बढे,दुर्घटनाको जोखिम पनि उच्च – Sagarmathapana:: Online News Portal

बुढी खोलामा चिप्लेटी खेल्ने आन्तरिक पर्यटक बढे,दुर्घटनाको जोखिम पनि उच्च

   २०८२ माघ १३ गते  

सुनसरी।सुनसरीको इटहरी उप महानगरपालिका-खनार ११ स्थित बुढी खोलामा पछिल्लो समय चिप्लेटी खेल्न जाने आन्तरिक पर्यटकको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ।विशेषगरी बुढी खोलाको पुल नजिकै बाँध क्षेत्र दैनिकजसो मानिसहरूको भीड लाग्ने स्थान बनेको छ।

तर, खोलाको ढुंगामय र अत्यन्तै चिप्लो सतहका कारण लडेर घाइते हुने घटनाहरू बढ्दै गएका छन्। स्थानीयका अनुसार यहाँ लगभग दैनिकजसो सामान्यदेखि गम्भीर प्रकृतिका चोटपटक लाग्ने घटना हुन थालेका छन्, जसले स्थानको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ।

सामाजिक सञ्जालमा बुढी खोलामा चिप्लेटी खेल्ने र रमाइलो क्षणका भिडियोहरू भाइरल भएपछि यहाँ आन्तरिक पर्यटकको आकर्षण ह्वात्तै बढेको हो। गर्मी मौसम बढेसँगै स्नान तथा मनोरञ्जनका लागि आउनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ।

यता बुढी खोला झरना संरक्षण व्यवस्थापन समितिले यस क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले विभिन्न संरचना निर्माण तथा व्यवस्थापनका काम सुरु गरिसकेको जनाएको छ। समितिका अनुसार पर्यटकमैत्री पूर्वाधार विकास, सरसफाइ तथा समग्र व्यवस्थापनमा ध्यान दिइँदैछ।

तर, दुर्घटनाको जोखिम उच्च रहेकाले चेतनामूलक सूचना बोर्ड, सुरक्षा घेरा, उद्धार व्यवस्थापन तथा आवश्यक सावधानीका उपाय तत्काल अपनाउनुपर्ने स्थानीयको माग छ। उनीहरूले सम्बन्धित निकायले सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राखेर मात्र पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्।

पर्यटन प्रवर्द्धनसँगै सुरक्षालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सके बुढी खोला सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन सक्ने देखिन्छ।

— सुनसरी संवाददाता

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै