टीआईटीएफ २०२६: थाइ बजारमा नेपाली पर्यटनको नयाँ सम्भावना
काठमाडौं।दक्षिण–पूर्व एशियाको महत्वपूर्ण पर्यटन स्रोत बजार थाइल्याण्डमा नेपाली पर्यटनको उपस्थितिलाई अझ बलियो बनाउने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड (एनटीबी) ले बैंककमा सम्पन्न ३१औँ थाइ इन्टरनेशनल ट्राभल फेयर(टीआईटीएफ)२०२६मा प्रभावकारी सहभागिता जनाएको छ।
२२ देखि २५ जनवरी २०२६ सम्म बैंककस्थित क्विन सिरिकिट नेशनल कन्भेन्सन सेन्टरमा आयोजना गरिएको चारदिने पर्यटन मेलामा एनटीबीले नेपाल एयरलाइन्ससहित नेपालका ११ वटा प्रतिष्ठित ट्राभल तथा ट्रेकिङ कम्पनीको सहकार्यमा ‘नेपाल प्याभिलियन’ सञ्चालन गरेको थियो।सो प्याभिलियनमार्फत नेपालको साहसिक, सांस्कृतिक, धार्मिक तथा प्राकृतिक पर्यटन उत्पादनहरूको व्यापक प्रवर्द्धन गरिएको थियो ।


मेलामा सहभागी नेपाली कम्पनीहरूले हिमाल, लुम्बिनी, विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक शहर, पदयात्रा मार्ग, साहसिक खेलकुद तथा आध्यात्मिक पर्यटनका विविध प्याकेजबारे थाइ पर्यटकलाई प्रत्यक्ष जानकारी गराएका थिए । यसले थाइ बजारमा नेपालप्रति बढ्दो चासोलाई थप ऊर्जा दिएको पर्यटन बोर्डको भनाइ छ ।
थाइल्याण्ड र नेपालबीच सञ्चालनमा रहेका दैनिक प्रत्यक्ष उडान तथा साप्ताहिक २० भन्दा बढी हवाई सेवाले दुई देशबीचको पर्यटन आवागमन सहज बनाएको छ । यही हवाई पहुँचका कारण थाइ पर्यटकहरूका लागि नेपाल आकर्षक गन्तव्य बन्दै गएको बोर्डले जनाएको छ ।


पर्यटन प्रवर्द्धनका साथै टीआईटीएफ २०२६ व्यवसाय–देखि–व्यवसाय (बीटुबी) भेटघाट र सहकार्य विस्तारका लागि पनि महत्वपूर्ण मञ्च बनेको थियो । मेलाको अवसरमा नेपाली पर्यटन व्यवसायीहरूले थाइ ट्राभल ट्रेड, टुर अपरेटर तथा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै नयाँ साझेदारी र दीर्घकालीन सहकार्यका सम्भावनाबारे छलफल गरेका थिए ।
टीआईटीएफ २०२६ मा नेपालको सक्रिय उपस्थितिले थाइ बजारमा नेपालको पर्यटन छविलाई थप सुदृढ बनाएको, नयाँ पर्यटक भित्र्याउने आधार तयार गरेको र दक्षिण–पूर्व एशियाली बजारमा नेपालको गन्तव्य पहिचानलाई नयाँ उचाइमा पुर्याएको नेपाल पर्यटन बोर्डको विश्वास छ ।












