संखुवासभा विश्वस्तरीय पर्यटन गन्तव्य बन्न सक्छ : बालेन शाह
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले संखुवासभाको पर्यटन विकासका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।पहिलो पटक संखुवासभा पुगेका शाहले यो जिल्ला प्राकृतिक सौन्दर्य र सांस्कृतिक विशेषताका कारण विश्वभरिका पर्यटक पुग्नुपर्ने गन्तव्य बन्न सक्ने सम्भावना बोकेको बताए।
संखुवासभा रुद्राक्ष उत्पादनका लागि परिचित रहेको उल्लेख गर्दै उनले नेपाली तथा विदेशी पर्यटकलाई आकर्षित गर्न स्थानीय तह, राजनीतिक नेतृत्व र समुदायले मिलेर काम गर्नुपर्नेमा जोड दिए। पर्यटन विकाससँगै कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने शाहको धारणा थियो।

पूर्वी भेग प्राकृतिक रूपमा अत्यन्तै सुन्दर भए पनि यसको महत्व देश–विदेशमा पर्याप्त रूपमा चिनिन नसकेको बताउँदै उनले पर्यटन प्रवर्द्धनमार्फत यस क्षेत्रको पहिचान स्थापित गर्नुपर्ने बताए।यहाँको सम्भावना टाढाबाट मात्र देखिँदैन,यहाँ आएपछि मात्र यसको वास्तविक मूल्य बुझ्न सकिन्छ शाहले भने।
रास्वपाका उम्मेदवार मिङ्मा शेर्पासँगको भेटका क्रममा शाहले उक्त अभिव्यक्ति दिएका हुन्।झापा क्षेत्र नम्बर–५ बाट उम्मेदवारी दिएका शाह पछिल्लो समय विभिन्न जिल्लामा पुग्दै चुनावी प्रचारप्रसारमा सक्रिय रहेका छन्।












