रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह पूर्वी पहाडतिर मतदाता भेटघाटमा – Sagarmathapana:: Online News Portal

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह पूर्वी पहाडतिर मतदाता भेटघाटमा

   २०८२ माघ ९ गते  

काठमाडौं।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले मतदाता भेटघाटलाई तीव्र बनाएका छन्।

मंगलबार झापा–५ बाट मनोनयन दर्ता गराएलगत्तै शाहले पूर्वी नेपालका विभिन्न जिल्लामा पुगेर मतदातासँग प्रत्यक्ष संवाद सुरु गरेका हुन्। मनोनयन दर्ता अघि जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी भई झापा पुगेका शाह दुई दिनको बसाइपछि पूर्वी पहाडी जिल्लातर्फ प्रस्थान गरेका थिए।

आज उनले इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न स्थानमा पुगेर स्थानीय मतदातासँग भेटघाट गरेका छन्। स्थानीय समस्या, विकासका आवश्यकता र राजनीतिक अपेक्षाबारे शाहले मतदाताको धारणा सुनेका थिए।

शाह भोलि ताप्लेजुङस्थित प्रसिद्ध पाथिभरा मन्दिरमा दर्शनका लागि जाने कार्यक्रम रहेको स्रोतले जनाएको छ। अधिकांश उम्मेदवारहरू आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित भइरहेका बेला शाह भने अन्य जिल्ला तथा क्षेत्रका मतदातासँग समेत भेटघाटमा सक्रिय देखिएका छन्।

उनको यो अभियानलाई रास्वपाले पूर्वी नेपालमा पार्टीको सन्देश विस्तार गर्ने रणनीतिका रूपमा लिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै