महानगरपालिकाको अल्टिमेटम चौधरी ग्रुपद्वारा सञ्चालित चाँदबाग स्कुल दुई दिन भित्र खाली गर्नु पर्ने – Sagarmathapana:: Online News Portal

महानगरपालिकाको अल्टिमेटम चौधरी ग्रुपद्वारा सञ्चालित चाँदबाग स्कुल दुई दिन भित्र खाली गर्नु पर्ने

   २०८१ श्रावण २८ गते  

काठमाडौं- चौधरी ग्रुपद्वारा सञ्चालित चाँदबाग स्कुल दुई दिनभित्र खाली काठमाडौं महानगरपालिकाले अल्टिमेटम दिएको छ ।

काठमाडौं महानगरपालिका-३ बाँसवारीस्थित कुनै बेला बाँसबारी छाला जुत्ता कारखाना उद्योग रहेको उक्त १० रोपनी सरकारी जग्गा आफ्नो नाममा पारेर चौधरी ग्रुपले चाँदबाग स्कुल सञ्चालन गर्दै आएको थियो।

तर चौधरी ग्रुपको चाँदबाग स्कुल सञ्चालन भइरहेको उक्त जग्गा सरकारीकरण भइसकेको छ ।

सरकारी जग्गा हडपेर चाँदबाग स्कुलको नाममा लगिएको जग्गा मालपोत कार्यालय डिल्लीबजारले सरकारका नाममा कायम गरेपछि खाली गराउन महानगरपालिका सक्रिय भएको हो ।

मालपोत कार्यालय डिल्ली बजारका अनुसार कित्ता नम्बर ५८ को ४८७ वर्गमिटर क्षेत्रफलको जग्गाको लालपूर्जा सरकारको नाममा कायम गरिसकिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २०८० माघ २२ गते मालपोत कार्यालयलाई पत्र पठाएर उक्त जग्गा नेपाल सरकारका नाममा श्रेस्ता अध्यावधिक गर्न पत्राचार गरेको थियो।

सरकारी जग्गा हडप्ने तत्कालीन च्याम्पियन फुटवेयर प्रालि र हालको चाँद बाग रेसिडेन्सी प्रालिका सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई बोलाएर भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले उक्त जग्गा सरकारका नाममा कायम गरेको हो।

कम्पनीका अध्यक्ष ठाकुरसहित मुख्य लगानीकर्ता अरुण चौधरी तथा बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । अदालतको आदेशअनुसार उनीहरू जमानीमा छुटेका थिए ।

मालपोत कार्यालयले चाँदवाग रेसिडेन्सीका अध्यक्ष ठाकुरलाई पत्र लेखी २१ दिनभित्र उपस्थित हुन भनेको थियो । पत्रमा भनिएको थियो, ‘… २०८०–१०–२२ को आदेशबमोजिम उक्त जग्गा नेपाल सरकारको नाममा स्रेस्ता अद्यावधिक गरी ल्याउन मिति २०८०–१०–२४ को आदेशबमोजिम त्यस प्रालिका नाममा यो पत्र लेख्ने कार्य भएको छ । पत्र प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २१ दिनभित्र आफैँ वा वारेस मुकरर गरी कार्यालय समयभित्र उपस्थित हुनु होला अन्यथा कानुनबमोजिम भई जाने व्यहोरा जानकारी गराइन्छ ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै