लम्जुङ बेसीशहरमा गुरुङ संस्कृतिमा आधारित चलचित्र ‘तेनो कुर्सि (ढोग भेट)’को विशेष प्रदर्शन
काठमाडौं।लम्जुङको बेसीशहर तथा आसपासका क्षेत्रका सम्पूर्ण बुबाआमा,दाजुभाइ,दिदीबहिनी र चलचित्रप्रेमी दर्शकहरूका लागि गुरुङ भाषा,संस्कृति र संस्कारमा आधारित नयाँ चलचित्र ‘तेनो कुर्सि (ढोग भेट)को विशेष प्रदर्शन हुने भएको छ।
क्लाइमेक्स आर्ट प्रोडक्सन प्रालिको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रको विशेष प्रदर्शन २४ माघ, बेसीशहर स्थित बरण्ड रेस्टुरेन्ट एण्ड इभेन्ट मा दिउँसो १२ बजे र ३ बजे हुने आयोजकले जनाएको छ।

गुरुङ समुदायको मौलिक जीवनशैली, परम्परा, सामाजिक संस्कार र सांस्कृतिक पहिचानलाई यथार्थपरक रूपमा चित्रण गरिएको चलचित्रमा पर्वत गुरुङ, खुशी गुरुङ, बबिता गुरुङ, राजेश गुरुङ, भीम गुरुङ, टिकराम गुरुङ, ओम गुरुङ, एलिसा गुरुङ र पूजा गुरुङलगायत कलाकारहरूको अभिनय रहेको छ।
भाषिक तथा सांस्कृतिक जगेर्नाको उद्देश्यले निर्माण गरिएको ‘तेनो कुर्सि (ढोग भेट)’ ले गुरुङ समुदायका परम्परागत संस्कार, सामाजिक बन्धन र सांस्कृतिक गौरवलाई कथाको मुख्य धागो बनाएको छ।
चलचित्रका निर्माता चन्द्र गुरुङ र कुमार गुरुङ हुन् भने लेखन तथा निर्देशनको जिम्मेवारी सुवास गुरुङ (गणेश गुरुङ) ले सम्हालेका छन्। दुई दशकभन्दा बढी समयदेखि नेपाली सांस्कृतिक फिल्म क्षेत्रमा सक्रिय निर्देशक गुरुङ गुरुङ भाषाका थुप्रै गीतमा संगीत तथा स्वर दिँदै भाषा–संस्कृति संरक्षणमा योगदान दिँदै आएका छन्। उनी हाल हङकङका स्थायी बासिन्दा हुन् र गुरुङ फिल्म एसोसिएसन नेपालका संस्थापक उपाध्यक्षसमेत हुन्।

निर्माण टोलीका अनुसार ‘तेनो कुर्सि (ढोग भेट)’ ले गुरुङ समुदायको मौलिक संस्कृति र परम्परा संरक्षणको सशक्त सन्देश बोकेको छ। चलचित्रले नयाँ पुस्तालाई आफ्नै पहिचान, भाषा र संस्कृतिप्रति गर्व गर्न प्रेरित गर्ने विश्वास निर्माता–निर्देशकको छ।
शुभकामनासहित ‘तेनो कुर्सि’ परिवारले भाषा, धर्म, कला, संस्कार, संस्कृति र सभ्यता जोगाऔँ अभियानमा सबैले निरन्तर साथ र सहयोग गरेकोप्रति हार्दिक आभार व्यक्त गरेको छ।












