सिद्धार्थ केवलकारको १३औँ वार्षिक साधारण सभा सम्पन्न,आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित
काठमाडौं।बुटवलस्थित सिद्धार्थ केवलकार लिमिटेडको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ कटेजमा आयोजित सभाले कम्पनीका विभिन्न प्रस्तावहरू स्वीकृत गरेको छ ।
सभाले विशेष प्रस्तावअन्तर्गत सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो । साधारण सभा सम्पन्न भएसँगै आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाइने कम्पनीका अध्यक्ष ई. राजेन्द्र सिंह गुरुङले जानकारी दिए ।


कम्पनीको केवलकार परियोजना नुवाकोट गढी क्षेत्रमा अवस्थित छ । यो क्षेत्र ऐतिहासिक रूपमा वीर नेपालीहरूले अंग्रेज सेनालाई परास्त गरेको स्थलका रूपमा परिचित छ । साथै, यही क्षेत्रमा भगवान् गौतम बुद्धका कुलगुरुको प्राचीन आश्रम रहेको उल्लेख विभिन्न बौद्ध धर्मग्रन्थहरूमा पाइने कम्पनीले जनाएको छ ।
कम्पनीका अध्यक्ष बुटवलका स्थानीय उद्यमी ई. गुरुङ रहेका छन् भने प्रबन्ध सञ्चालकमा शेयर विश्लेषक, लगानीकर्ता तथा जलविद्युत् व्यवसायी प्रभुलाल अधिकारी छन् । कम्पनीका मुख्य लगानीकर्तामा प्रभु केवलकार एन्ड टुरिजम लिमिटेड, प्रभु ग्रुप्स तथा बुटवल क्षेत्रका विभिन्न व्यवसायीहरू रहेका छन् ।
सभामा प्रस्तुत वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षमा ८ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । आगामी आर्थिक वर्षमा अझ उच्च मुनाफा गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । साथै, गत वर्ष मात्र तीन लाखभन्दा बढी पर्यटकले सिद्धार्थ केवलकारमार्फत यात्रा गरेको जानकारी पनि सभामा प्रस्तुत गरिएको थियो ।
आईपीओ निष्कासनसँगै कम्पनीको पूँजी संरचना थप सबल हुने र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।












