ebookingnepal.com को औपचारिक उद्घाटन डिजिटल यात्रा तथा होटल बुकिङमा नयाँ आयाम – Sagarmathapana:: Online News Portal

ebookingnepal.com को औपचारिक उद्घाटन डिजिटल यात्रा तथा होटल बुकिङमा नयाँ आयाम

   २०८२ पुष २९ गते  

काठमाडौं।यात्रा तथा होटल सेवासम्बन्धी जानकारी र बुकिङ सुविधा प्रदान गर्ने डिजिटल प्लेटफर्म ebookingnepal.com को औपचारिक उद्घाटन गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल ले मंगलबार राजधानीमा आयोजित विशेष कार्यक्रममा उक्त प्लेटफर्मको शुभारम्भ गरेका हुन्।

कार्यक्रममा आयोजकले सूचना तथा सञ्चार प्रविधिको तीव्र विकासले मानिसको दैनिक जीवनलाई अझ सरल, सहज र व्यवस्थित बनाउँदै लगेको उल्लेख गरे। विशेषगरी हस्पिटालिटी र यात्रा क्षेत्रमा प्रविधिको प्रयोग आजको आवश्यकता मात्र नभई अपरिहार्य बनेको आयोजकको धारणा थियो।


नेपालको फस्टाउँदै गएको हस्पिटालिटी क्षेत्रमा अत्याधुनिक सूचना प्रविधिको अधिकतम उपयोग आवश्यक रहेको बताउँदै, नेपाल केन्द्रित डिजिटल ट्राभल तथा सेवा बुकिङ प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ पुस २९ गतेदेखि ebookingnepal.com को औपचारिक सुरुआत गरिएको जनाइएको छ।

डिजिटल यात्रा तथा सेवा बुकिङ प्रणालीलाई अझ उपभोक्तामैत्री बनाउने लक्ष्यसहित सञ्चालनमा ल्याइएको यो प्लेटफर्म नेपाली हस्पिटालिटी क्षेत्रमा नयाँ र अर्थपूर्ण मानक बन्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री खरेलसहित पर्यटन, प्रविधि, अर्थ क्षेत्रका विज्ञ, सरोकारवाला निकायका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सो अवसरमा ebookingnepal.com का सेवा, उद्देश्य र भविष्यका योजनाबारे विस्तृत जानकारी दिइएको थियो।


यस प्लेटफर्ममार्फत होटल बुकिङ, ट्राभल सेवा, टुर प्याकेज तथा अन्य डिजिटल बुकिङ सेवाहरूलाई एउटै प्लेटफर्ममा सहज, सुरक्षित र विश्वसनीय रूपमा उपलब्ध गराइने जनाइएको छ। डिजिटल प्रविधिको प्रयोगमार्फत नेपालको पर्यटन तथा सेवा क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउनुका साथै राजस्व अभिवृद्धिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

साथै, सेवा विस्तार र साझेदारीमार्फत आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउने योजना रहेको आयोजकले बताएका छन्। ebookingnepal.com लाई नेपालको पर्यटन तथा हस्पिटालिटी क्षेत्रको अग्रणी डिजिटल प्रवेशद्वारका रूपमा विकास गर्दै यात्रुहरूलाई प्रामाणिक अनुभवसँग जोड्ने लक्ष्य लिइएको छ।

अत्याधुनिक प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग गरिएको यो प्लेटफर्म नेपाली र अंग्रेजी दुवै भाषामा सञ्चालन गर्न सकिनेछ। खोजदेखि बुकिङसम्मको सम्पूर्ण प्रक्रिया सहज, पारदर्शी र प्रयोगकर्ता मैत्री हुने विश्वास गरिएको छ।

ebookingnepal.com को मोबाइल एप iOS र Android दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ। प्रयोगकर्ताले Apple App Store तथा Google Play Store मार्फत एप डाउनलोड गरी सेवा लिन सक्नेछन्।

एउटै एकीकृत प्लेटफर्मबाट यात्रा सम्बन्धी सम्पूर्ण सुविधा उपलब्ध हुने भएकाले समय, श्रम र लागतको बचत गर्दै सेवाको प्रभावकारिता उल्लेखनीय रूपमा वृद्धि हुने आयोजकको दाबी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै