भारतमा सम्पन्न बीटीएम–२०२६ मा नेपाल पर्यटन बोर्डलाई अन्तर्राष्ट्रिय अवार्ड
सिलिगुडी,भारत।नेपाल पर्यटन बोर्ड (एनटीबी) भारतको सिलिगुडीमा सम्पन्न ९औँ संस्करणको बंगाल ट्राभल मार्ट (बीटीएम) २०२६ मा ‘Tourism Abode of the Eastern Himalayas’ अवार्डबाट सम्मानित भएको छ।
जनवरी ९ देखि ११ सम्म द सिन्ड्रेला होटलमा आयोजित उक्त अन्तर्राष्ट्रिय पर्यटन महोत्सवमा पूर्वी हिमालय क्षेत्रभित्र नेपाललाई अनुभवात्मक पर्यटन गन्तव्यका रूपमा प्रभावकारी रूपमा प्रवर्द्धन गरेको योगदानको कदरस्वरूप नेपाल पर्यटन बोर्डलाई उक्त अवार्ड प्रदान गरिएको हो।


नेपाल पर्यटन बोर्डका अनुसार यो सम्मानले पूर्वी हिमालय क्षेत्रमा नेपालको पर्यटन पहिचान मजबुत बनाउने उद्देश्यसहित बोर्डले निरन्तर गर्दै आएको प्रवर्द्धनात्मक प्रयासलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको छ।
पूर्वी हिमालय ट्राभल एन्ड टुर अपरेटर्स एसोसिएसन (ईएचटिटिओए) द्वारा आयोजित बंगाल ट्राभल मार्ट पूर्वी भारतकै प्रमुख पर्यटन व्यापार मञ्चका रूपमा चिनिन्छ। कार्यक्रममा भारत, नेपाल, भुटान र बंगलादेशका पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवाला सहभागी थिए।
बीटीएम–२०२६ मा नेपाल पर्यटन बोर्डसँगै नेपालका विभिन्न ट्राभल ट्रेड कम्पनीहरू तथा कोशी र मधेश प्रदेशका पर्यटन क्षेत्रका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। तीनदिने कार्यक्रममा नेपालका प्रदर्शकहरूले पश्चिम बंगाल लक्षित विशेष पर्यटन प्याकेज, सेवा तथा गतिविधिहरू प्रस्तुत गर्दै भारतीय र भुटानी पर्यटन व्यवसायीसँग व्यावसायिक सम्बन्ध विस्तार गरेका थिए।

नेपाल स्टलमार्फत कोशी र मधेश प्रदेशका नयाँ पर्यटन उत्पादन, गन्तव्य तथा सम्भावनाबारे जानकारी दिइएको थियो भने ट्राभल सूचना, नक्सा, पोस्टर र प्रचार सामग्रीसमेत वितरण गरिएको थियो।
नेपाल पर्यटन बोर्डको तर्फबाट वरिष्ठ निर्देशक मणिराज लामिछाने, वरिष्ठ प्रबन्धक खड्गविक्रम शाह तथा सहयोगी कर्मचारी सुरेन्द्र सिंह लामा सहभागी थिए। कार्यक्रम सुरु हुनुअघि जनवरी ७ मा सिलिगुडी जर्नालिस्ट क्लबमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ निर्देशक लामिछानेले स्थानीय सञ्चारमाध्यमलाई नेपालको पर्यटन सम्भावनाबारे जानकारी गराएका थिए।
औपचारिक उद्घाटन समारोहमा बोल्दै लामिछानेले नेपालको विविध पर्यटन उत्पादनबारे चर्चा गर्दै ‘भिजिट कोशी वर्ष–२०८२’ र ‘भिजिट मधेश–२०८३’ अभियानको सन्दर्भ उल्लेख गर्दै सहभागीहरूलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।
जनवरी १० को साँझ आयोजित ‘नेपाल नाइट’ सांस्कृतिक कार्यक्रममार्फत भारतीय पर्यटकलाई लक्षित गरी नेपाललाई आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको थियो। कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो।
यस अवसरमा नेपाल पर्यटन बोर्ड, कोशी र मधेश प्रदेशका प्रतिनिधिहरूले सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागकी अतिरिक्त सचिव डा. प्रेरणा चाम्लिङ, भुटान पर्यटन विभागका मार्केटिङ प्रबन्धक कर्मा वाङ्दी, बीटीएम अध्यक्ष सन्दीपा घोष तथा ईएचटिटिओएका अध्यक्ष सुरेश ठाकुरीलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरेका थिए।
नेपाल पर्यटन बोर्डले बीटीएम–२०२६ मार्फत नेपाल–भारत सीमापार पर्यटन सहकार्यलाई थप सुदृढ बनाउँदै पूर्वी हिमालय क्षेत्रमा नेपालको पर्यटन उपस्थिति विस्तार गर्न महत्वपूर्ण उपलब्धि हासिल भएको जनाएको छ।












