नेपाल ग्रामीण चलचित्र महोत्सवको पाँचौँ संस्करण बैशाख १०–१२ मा
काठमाडौं।नेपाली मौलिक ग्रामीण कथा वस्तुमा आधारित चलचित्रको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना हुँदै आएको नेपाल ग्रामीण चलचित्र महोत्सवको पाँचौँ संस्करण आगामी वर्षको बैशाख १० देखि १२ गतेसम्म आयोजना हुने भएको छ।
राजधानी बाहिरका ग्रामीण इलाकामा आयोजना हुँदै आएको यो महोत्सवको स्थलबारे भने हालसम्म जानकारी सार्वजनिक गरिएको छैन। आयोजक संस्था सेलिब्रेटी नेपालले नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित चलचित्रहरूको दर्ता आह्वान गरिसकेको छ।

महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाका अनुसार गाउँले परिवेश झल्किने स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र तथा विभिन्न भाषाभाषीका चलचित्रहरू महोत्सवमा सहभागी हुन सक्नेछन्। प्राप्त चलचित्रहरूमध्ये निर्णायक मण्डलबाट छनोट भएका चलचित्रहरू महोत्सवमा प्रदर्शन गरिनेछ भने उत्कृष्ट चलचित्रलाई विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ।
महोत्सवको उद्देश्यबारे अध्यक्ष सापकोटाले नेपाली मौलिक चलचित्रप्रति दर्शकको आकर्षण बढाउने, नियमित रूपमा चलचित्र हेर्ने संस्कार विकास गर्ने, ग्रामीण कथामा आधारित चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने तथा स्थानीय भाषा, कला, संस्कृति र पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने रहेको बताए।

‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा चलचित्र प्रदर्शनीसँगै अन्तरक्रिया तथा कार्यशाला गोष्ठीहरू पनि सञ्चालन गरिनेछ। “महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्र समावेश गर्दै आएका छौँ। यसले चलचित्र भवन नभएका गाउँका दर्शकलाई पनि चलचित्रसँग जोड्ने विश्वास लिएका छौँ,” अध्यक्ष सापकोटाले भने।
यसअघि महोत्सव गोरखाको लाप्राक, काभ्रेपलाञ्चोकको भकुण्डेबेसी, रामेछाप र रसुवामा सम्पन्न भइसकेको छ। यसपटकको महोत्सव आयोजना हुने स्थान भने तय हुन बाँकी रहेको महोत्सव संयोजक कमल एक्चै मगरले जानकारी दिए।
चलचित्र विकास बोर्डको सहकार्यमा आयोजना हुने यो महोत्सवले ग्रामीण जीवन र कथालाई नेपाली चलचित्रमार्फत उजागर गर्दै आएको छ।













