बौद्ध धर्म,संस्कृति र पर्यटन प्रवर्द्धनबारे अन्तरक्रिया कार्यक्रम आज बौद्धमा
काठमाडौं-बौद्ध धर्म, संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धनसँगै दीर्घकालीन नीति निर्माणका विषयमा केन्द्रित अन्तरक्रिया कार्यक्रम आज काठमाडौंको बौद्धस्थित अनुत्तरा होटलमा आयोजना हुँदैछ।
बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा हुन लागेको “बौद्ध धर्म, संस्कृति, पर्यटन प्रवर्द्धन तथा नीति निर्माणसम्बन्धी अन्तरक्रिया” कार्यक्रम आज दिउँसो २ बजेबाट सुरु हुने आयोजकले जनाएको छ।


कार्यक्रममा बौद्ध धर्म र संस्कृतिको संरक्षण, धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रवर्द्धन तथा बौद्ध क्षेत्रको दीर्घकालीन विकासका लागि आवश्यक नीतिगत विषयहरूमा सरोकारवालाबीच गहन छलफल हुने बताइएको छ।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय अनिल कुमार सिन्हा सहभागी हुनेछन्। यस्तै संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला, राष्ट्रिय सभा सदस्य माननीय सोनाम घ्याल्जेन शेर्पा, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी विशेष उपस्थिति रहनेछ।
त्यसैगरी कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा, होटल संघ नेपाल (HAN) का अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (TAAN) का अध्यक्ष सागर पाण्डे, नाट्टा (NATTA)का अध्यक्ष कुमार मणि थपलिया लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, पर्यटन व्यवसायी, बौद्ध धर्मावलम्बी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
आयोजकका अनुसार यस किसिमको अन्तरक्रिया कार्यक्रमले बौद्ध क्षेत्रको समग्र विकास, धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन र प्रभावकारी नीति निर्माणमा सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ।













