ब्रेन ल्याण्ड एकेडेमीमा विद्यालयस्तरीय संयुक्त राष्ट्रसंघ मोडेल कार्यक्रम सुरु – Sagarmathapana:: Online News Portal

ब्रेन ल्याण्ड एकेडेमीमा विद्यालयस्तरीय संयुक्त राष्ट्रसंघ मोडेल कार्यक्रम सुरु

   २०८२ पुष २८ गते  

काठमाडौं।विद्यालय स्तरीय स्कुल्स एलायन्स फर एकेडेमिक ट्रान्सफर्मेसन (SAAT) द्वारा आयोजित संयुक्त राष्ट्रसंघ मोडेल (Model United Nations) कार्यक्रम आजबाट काठमाडौंको कपनस्थित ब्रेन ल्याण्ड एकेडेमीमा औपचारिक रूपमा सुरु भएको छ।

कार्यक्रमका प्रमुख अतिथि फ्रान्सका लागि नेपालका पूर्व राजदूत मोहनकृष्ण श्रेष्ठले तीन दशकभन्दा बढीको आफ्नो कूटनीतिक अनुभव साझा गर्दै विद्यार्थीहरूलाई कूटनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रमा करियर निर्माण गर्न प्रेरित गर्नुभयो। उहाँले शान्ति स्थापना र दिगो विकासमा संयुक्त राष्ट्रसंघको भूमिकालाई महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता शैक्षिक कार्यक्रमको प्रशंसा गर्नुभयो।

त्यसैगरी, राष्ट्रिय प्याब्सनका पूर्व महासचिव, साहित्यकार तथा ब्रेन ल्याण्ड एकेडेमीका प्रिन्सिपल डा. परसमणि दाहालले राष्ट्र निर्माण र विश्व शान्तिको आधार यस्ता शैक्षिक पहलबाट सुरु हुने धारणा व्यक्त गर्नुभयो।

उद्घाटन समारोहमा बोल्दै SAAT का अध्यक्ष विनय श्रेष्ठले संयुक्त राष्ट्रसंघसँगको औपचारिक मान्यता तथा समन्वयले कार्यक्रमको शैक्षिक विश्वसनीयता अझ सुदृढ बनाउने बताउनुभयो। उहाँले युवा विद्यार्थीहरूमा सूचित कूटनीति, नेतृत्व र अन्तर्राष्ट्रिय सहभागिताको भावना विकास गर्नु यस पहलको मुख्य लक्ष्य रहेको उल्लेख गर्नुभयो।

कार्यक्रमको उद्घाटन समारोहमा पत्रकार, कवि तथा शान्ति अभियन्ता सरोज ओझासहित विभिन्न शिक्षाविद् तथा विद्वानहरूको उपस्थिति रहेको थियो।

१२ वटा सहभागी विद्यालयका ४२ जना विद्यार्थीहरूको सहभागितामा सुरु भएको यो तीनदिने शैक्षिक कार्यक्रम पुस २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। विद्यालय तहका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमको मुख्य उद्देश्य समालोचनात्मक सोच, कूटनीतिक क्षमता, नेतृत्व विकास तथा विश्वव्यापी चेतनाको अभिवृद्धि गर्नु रहेको छ।

कार्यक्रमअन्तर्गत संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्, आर्थिक तथा वित्तीय समिति, र संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद् गरी तीनवटा प्रमुख समिति गठन गरिएको छ। यस वर्षको कार्यक्रममा संकट अनुकरण अभ्यास, प्रतिनिधि अभिमुखीकरण, संरचित बहस तथा प्रस्ताव लेखनजस्ता शैक्षिक गतिविधिहरू समावेश गरिएका छन्, जसले विद्यार्थीहरूलाई यथार्थपरक र प्रभावकारी संयुक्त राष्ट्रसंघ मोडेल अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

आयोजक संस्था SAAT का सचिव प्रशान्त दाहालले सक्रिय सहभागिता, सशक्त शैक्षिक अभ्यास तथा अनुभवी मार्गदर्शनमार्फत जिम्मेवार र विश्वप्रति सचेत युवा नागरिक निर्माणमा कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै