स्वर्गीय तेन्जिङ नोर्गे स्मृति खुला आरोहण प्रतियोगिता–२०२६ को मिति परिवर्तन – Sagarmathapana:: Online News Portal

स्वर्गीय तेन्जिङ नोर्गे स्मृति खुला आरोहण प्रतियोगिता–२०२६ को मिति परिवर्तन

   २०८२ पुष २७ गते  

काठमाडौं।नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ र US Nepal Climbers Association Inc. को संयुक्त आयोजनामा सञ्चालन हुँदै आएको स्वर्गीय तेन्जिङ नोर्गे स्मृति खुला आरोहण प्रतियोगिता–२०२६ को मिति परिवर्तन गरिएको छ।

यसअघि जनवरी २९, २०२६ मा आयोजना गर्ने तय गरिएको प्रतियोगिता विशेष कारणवश अब आगामी मे २९, २०२६ मा आयोजना गरिने भएको आयोजकले जनाएको छ। आइतबार काठमाडौंस्थित क्रिम्पान्जी एडभेन्चर हबमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक संस्थाले प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो।

सगरमाथाका प्रथम सफल आरोही तथा विश्वभरका पर्वतारोहण पेशाकर्मीहरूका लागि प्रेरणाका स्रोत स्वर्गीय तेन्जिङ नोर्गे शेर्पाको स्मृतिमा विगत दुई वर्षदेखि यो प्रतियोगिता आयोजना हुँदै आएको छ। साहसिक खेल अन्तर्गत पर्ने खेल आरोहण (स्पोर्ट क्लाइम्बिङ) संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ र US Nepal Climbers Association Inc. ले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्दै आएका छन्।

आयोजकका अनुसार सन् १९५३ मे २९ मा स्वर्गीय तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा विजय गरेको ऐतिहासिक दिनको सम्मानस्वरूप यस वर्षदेखि प्रतियोगिता सोही मितिमा आयोजना गर्ने निर्णय गरिएको हो। उहाँको अतुलनीय साहस, योगदान र ऐतिहासिक उपलब्धिको सम्मानका लागि मे २९ नै प्रतियोगिताका लागि सबै दृष्टिले उपयुक्त र अर्थपूर्ण मिति रहेको आयोजक समितिको भनाइ छ।

स्वर्गीय तेन्जिङ नोर्गे स्मृति खुला आरोहण प्रतियोगिता नेपाली साहसिक खेलको प्रवर्द्धन, खेल आरोहण संस्कृतिको विकास तथा युवा पुस्तालाई पर्वतारोहणतर्फ आकर्षित गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको एक महत्वपूर्ण कार्यक्रम हो।

कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सम्बन्धित सरकारी निकाय, सरोकारवाला संघ–संस्था, प्रायोजक, सञ्चारमाध्यम तथा व्यक्तिगत तहबाट आवश्यक सहयोग, सहकार्य र सकारात्मक प्रतिक्रिया प्राप्त हुने अपेक्षा आयोजकले व्यक्त गरेको छ।

तस्बीर: फुर्वा शेर्पा

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै