पोखरामा एक महिने फोटोग्राफी तथा भिडियोग्राफी (ड्रोनसहित)तालिम प्रभावकारी रूपमा सञ्चालन
पोखरा-चलचित्र विकास बोर्डको सहकार्य तथा मगर चलचित्रकर्मी संघको आयोजनामा पोखरामा सञ्चालन भइरहेको एक महिने फोटोग्राफी तथा भिडियोग्राफी (ड्रोनसहित) तालिम कार्यक्रम प्रभावकारी रूपमा अघि बढिरहेको छ।
तालिम अन्तर्गत पुस २० गते आयोजित विशेष अन्तरक्रिया सत्रमा चलचित्र विकास बोर्डका अध्यक्ष डि.सी.ले प्रशिक्षार्थीहरूसँग आफ्नो लामो चलचित्र यात्राका अनुभवहरू साझा गर्नुभएको थियो। सो अवसरमा उहाँले प्रशिक्षार्थीहरूलाई मेहनत, निरन्तरता र अभ्यास नै सफलताको मुख्य आधार भएको बताउनुभयो।


“अरूको कुरा काट्दै बसेर केही हुँदैन, गर्ने काम आफैँले हो। यस क्षेत्रमा कति अघि बढ्ने भन्ने कुरा तपाईंको मेहनत, निरन्तरता र अभ्यासमा निर्भर गर्छ,” अध्यक्ष डि.सी.ले भन्नुभयो।
उहाँले चलचित्रमा दृश्यको महत्व, सिर्जनात्मक सोच तथा व्यावहारिक सीपको भूमिकाबारे प्रकाश पार्दै फोटोग्राफी र भिडियोग्राफी क्षेत्रमा दैनिक एक हजारदेखि पचास हजार रुपैयाँसम्म आम्दानी गर्न सकिने सम्भावना रहेको उल्लेख गर्नुभयो। तर, त्यो सम्भावनालाई उपलब्धिमा बदल्न अनुशासन, निरन्तर अभ्यास र सिकेका कुराहरू व्यवहारमा लागू गर्न आवश्यक रहेको उहाँको जोड थियो।
पुस १ गतेदेखि सुरु भएको उक्त तालिम पोखरा महानगरपालिका–गगनगौडास्थित धौलागिरी आमा पुन मगर समाजको भवनमा सञ्चालन भइरहेको छ। तालिममा सिन्धुली, स्याङ्जा, कास्की, तनहुँ, पर्वत र म्याग्दी जिल्लाबाट आएका ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ।


तालिममा सहभागीहरूले फोटोग्राफी, भिडियोग्राफी तथा ड्रोन प्रविधिसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गरिरहेका छन्। तालिम अवधिभर विभिन्न विषय विज्ञ प्रशिक्षकहरूलाई आमन्त्रण गरी गुणस्तरीय प्रशिक्षण प्रदान भइरहेको आयोजकले जनाएको छ।
प्रशिक्षार्थीहरूको सहजीकरण मगर चलचित्रकर्मी संघका उपाध्यक्ष देव पुन मगरले गरिरहेका छन् भने कार्यक्रमको व्यवस्थापन जिम्मेवारी नेपाल पुन मगर समाजले सम्हालेको छ।
चलचित्र विकास बोर्डले यस्ता सीपमूलक तथा क्षमता अभिवृद्धि गर्ने तालिमहरूलाई निरन्तर प्राथमिकतामा राख्दै नेपाली चलचित्र तथा दृश्य–श्रव्य क्षेत्रलाई प्राविधिक रूपमा सक्षम र प्रतिस्पर्धी बनाउँदै लैजाने लक्ष्य लिएको जनाएको छ।
फोटो:चलचित्र विकास बोर्ड













