अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या मासिक रूपमा हालसम्मकै उच्च – Sagarmathapana:: Online News Portal

अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या मासिक रूपमा हालसम्मकै उच्च

   २०८२ पुष २० गते  

काठमाडौं-अमेरिकाबाट डिपोर्ट हुने नेपाली नागरिकको संख्या पछिल्ला महिनाहरूमा तीव्र रूपमा बढ्दै गएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार सन् २०२५ को डिसेम्बर महिनामा मात्रै ९८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन्, जुन मासिक रूपमा हालसम्मकै उच्च संख्या हो।

डिसेम्बरमा डिपोर्ट गरिएका मध्ये ९२ जना पुरुष र ६ जना महिला रहेका छन्। अध्यागमनका अनुसार अमेरिकाले एकैपटक चार्टर्ड विमानमार्फत ७५ जना नेपालीलाई नेपाल फर्काएको थियो। सोही महिनामा अन्य विभिन्न उडानमार्फत थप २३ जना डिपोर्ट भएपछि कुल संख्या ९८ पुगेको हो।

यसअघि नोभेम्बर महिनामा ८० जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए, जसमा ७८ जना पुरुष र २ जना महिला थिए। त्यस्तै, अक्टोबरमा ३८ जना र सेप्टेम्बरमा ५३ जना नेपाली डिपोर्ट भएका थिए। अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२५ को जनवरीमा ६, फेब्रुअरीमा १८, मार्चमा ३२, अप्रिलमा २६, मेमा ५८, जुनमा ४२ र जुलाईमा १७ जना नेपाली अमेरिकाबाट फर्काइएका थिए। तुलनात्मक रूपमा जनवरी, फेब्रुअरी र जुलाईमा डिपोर्ट हुनेको संख्या कम देखिएको छ।

विश्लेषकहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएसँगै आप्रवासन नीति थप कडा बनेको छ। वैधानिक कागजातबिनै बसोबास गरिरहेका आप्रवासीलाई लक्षित कारबाहीका कारण ठूलो संख्यामा नेपाली नागरिक पनि डिपोर्ट हुने अवस्थामा पुगेका छन्।

डिपोर्ट भएर नेपाल फर्काइएकाहरूलाई अध्यागमन विभागले प्रारम्भिक प्रक्रिया पूरा गरेपछि मानव बेचबिखन अनुसन्धान ब्यूरोको जिम्मा लगाउने गरेको छ। ब्यूरोले सामान्य सोधपुछपछि अधिकांशलाई आफन्तको जिम्मा लगाउने गरेको छ भने लिखित निवेदन परेमा मात्र विस्तृत अनुसन्धान अघि बढाइने जनाएको छ।

नेपाल सरकारले अमेरिकाबाट डिपोर्ट हुने आफ्ना नागरिकलाई सहज रूपमा स्वीकार गर्दै आएको छ। वाशिङ्टन डीसीस्थित नेपाली दूतावासले अमेरिकी अध्यागमनले माग गरेका ट्राभल डकुमेन्ट उपलब्ध गराउँदै डिपोर्ट प्रक्रिया सहजीकरण गर्दै आएको अध्यागमन अधिकारीहरू बताउँछन्। पछिल्लो समय भने तेस्रो मुलुक हुँदै नेपाल फर्काइने डिपोर्ट नेपालीको संख्या पनि बढ्दै गएको छ।

अमेरिकाको कडा आप्रवासन नीतिका कारण आगामी दिनमा डिपोर्ट हुने नेपालीको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। यसले वैदेशिक रोजगारी, सुरक्षित आप्रवासन र मानव तस्करी नियन्त्रणका क्षेत्रमा थप चुनौती सिर्जना गर्ने देखिएको छ।

तस्बिर : सामाजिक सञ्जाल

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै