पाल्दोर पिक आरोहण गर्ने १६ महिला आरोही सम्मानित
काठमाडौँ-ग्लोबल इन्क्लुसिभ एडभेन्चर अर्गनाइजेसनले पाल्दोर पिक (५,९०३ मिटर) सफलतापूर्वक आरोहण गर्ने १६ जना महिला सहभागीलाई सम्मान गरेको छ। उनीहरूले सन् २०२५ डिसेम्बर २२ र २३ मा सम्पन्न पाल्दोर पिक एक्सपिडिसन २०२५ अन्तर्गत शिखर चुम्न सफल भएका हुन्।
ग्लोबल इन्क्लुसिभ एडभेन्चर अर्गनाइजेसनकी पूर्व अध्यक्ष माया गुरुङका अनुसार उक्त अभियान संस्थाको फिमेल लिडरशिप एकेडेमी अन्तर्गत सञ्चालन गरिएको माउन्टेन लिडरशिप ट्रेनिङ कार्यक्रमको हिस्सा थियो। डिसेम्बर १७ देखि २७ सम्म सञ्चालन भएको कार्यक्रममा १६ जना महिला टिम लिडरहरूले पाल्दोर पिक सफलतापूर्वक आरोहण गरी शिखर तथा नेतृत्व तालिम प्रमाणपत्र प्राप्त गरेका छन्।


प्रमाणपत्र वितरण कार्यक्रम बिहीबार बौद्धस्थित उत्पला क्याफेमा आयोजना गरिएको थियो। अभियानको नेतृत्व अनुभवी आरोही फुरा डिकी शेर्पाले गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष फुर गेल्जे शेर्पाले सहभागीहरूलाई बधाई दिँदै नेपालका पर्वतारोहण क्षेत्रमा महिलाको भूमिका बढ्दै गएको उल्लेख गर्नुभयो। उहाँले समावेशीकरण प्रवर्द्धन गर्ने र महिला आरोहीलाई सशक्त बनाउने नेतृत्व विकास कार्यक्रमको आवश्यकता औंल्याउनुभयो।
यस अभियान तथा तालिम कार्यक्रमले महिलालाई व्यावहारिक नेतृत्व अनुभव, प्राविधिक सीप तथा उच्च हिमाली वातावरणमा काम गर्ने अवसर प्रदान गर्दै नेपालको पर्वतीय पर्यटन क्षेत्रलाई थप समावेशी र विविध बनाउने लक्ष्य राखेको आयोजकले जनाएको छ।
तस्बीर:पूर्वा शेर्पा












