ग्रेगोरियन पात्रोअनुसार सन् २०२६ को नयाँ वर्ष सुरु – Sagarmathapana:: Online News Portal

ग्रेगोरियन पात्रोअनुसार सन् २०२६ को नयाँ वर्ष सुरु

   २०८२ पुष १७ गते  

काठमाडौं- ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत् २०२६ सुरु भएको छ।येशु ख्रिस्टको जन्म वर्षलाई आधार मानी पादरी ग्रेगोरियनले प्रवर्तन गरेकाले यस पात्रोलाई ग्रेगोरियन पात्रो भनिन्छ।

नयाँ वर्ष २०२६ को अवसरमा ग्रेगोरियन पात्रो मान्ने समुदायले आज एक–आपसमा शुभकामना आदान–प्रदान गर्दै विभिन्न कार्यक्रमका साथ नयाँ वर्ष मनाइरहेका छन्। सौरमासको आधारमा तयार गरिएको इस्वी संवत् विश्वभर प्रचलित पात्रोका रूपमा स्थापित हुँदै गएको छ।

विभिन्न संवत् र पात्रोमाथि अध्ययन–अनुसन्धान गर्दै आएका विद्वान् डा. शास्त्रदत्त पन्तका अनुसार सौरमास र चन्द्रमासको समन्वयमा वैदिककालदेखि सुरु भएको विक्रम संवत् तुलनात्मक रूपमा बढी वैज्ञानिक भए पनि इस्वी संवत्को प्रभाव हाल विश्वव्यापी रूपमा फैलँदै गएको छ।

एक वर्षको अवधि ३६५ दिन ६ घण्टा ४९ मिनेट ६ सेकेन्डको हुने भए पनि दैनिक प्रयोगमा घण्टा, मिनेट र सेकेन्डलाई गणनामा समावेश नगर्दा समय व्यवस्थापन चुनौतीपूर्ण हुने गरेको छ। यही असन्तुलनलाई मिलाउन विक्रम संवत्मा निश्चित वर्षमा अधिकमासको व्यवस्था गरिएको छ। इस्वी संवत्मा भने ‘लिप इयर’ को माध्यमबाट समायोजन गरिए पनि यस विषयमा पश्चिमा देशहरूबीच समेत पूर्ण मतैक्यता नरहेको डा. पन्त बताउँछन्।

पछिल्ला वर्षहरूमा नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ। विशेषगरी पर्यटकीय क्षेत्र तथा विदेशीको बाक्लो उपस्थिति हुने स्थानहरूमा सांगीतिक कार्यक्रम, सांस्कृतिक प्रस्तुति तथा विविध उत्सव आयोजना गरी नयाँ वर्षको स्वागत गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै