एनटीबीद्वारा ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ घोषणा
काठमाडौँ।नेपाल पर्यटन बोर्ड (एनटीबी) ले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा सन् २०२६ लाई ‘नेपाल–आसियान पर्यटन वर्ष’ का रूपमा मनाउने औपचारिक घोषणा गरेको छ।
स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै बोर्डका कार्यकारी प्रमुख अधिकृत (सीईओ) दीपक राज जोशी ले आसियान मुलुकलाई नेपालका लागि उच्च सम्भावनायुक्त पर्यटन बजारका रूपमा उल्लेख गर्दै सन् २०२६ लक्षित विशेष रणनीति सार्वजनिक गरे।



सीईओ जोशीका अनुसार हालसम्म १ लाख ७ हजारभन्दा बढी आसियान मुलुकका पर्यटक नेपाल भित्रिसकेका छन्, जुन दीर्घकालीन र स्थिर बजारका रूपमा स्थापित हुँदै गएको छ।
उनले भने, “बौद्ध तथा आध्यात्मिक पर्यटन, प्रकृति र साहसिक पर्यटन, वेलनेस तथा आयुर्वेद, संस्कृति र समुदायमा आधारित पर्यटनमार्फत आसियान बजारमा नेपाललाई सशक्त रूपमा स्थापित गरिनेछ।”
कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन समारोहका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा तथा विशिष्ट अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ रहेका थिए।
सीईओ जोशीले सन् २०२५ मा ११ लाख ६० हजार पर्यटक नेपाल भित्रिने अनुमान गरिएको जानकारी दिँदै यो संख्या गत वर्षको तुलनामा करिब ३ प्रतिशतले वृद्धि भएको बताए।
उनका अनुसार सन् २०२५ भित्र ३१ वटा टुरिजम मार्ट, १२ वटा ब्रान्डिङ तथा कर्पोरेट गतिविधि, र २० भन्दा बढी माइस (MICE) कार्यक्रम सम्पन्न भइसकेका छन्।


त्यसैगरी, जेन्जी आन्दोलनपछिको अवधिमा ८ प्रमुख पर्यटकीय गन्तव्यबाट लाइभ प्रसारण, ९ भाषामा यात्रा सूचना प्रकाशन, ६९ पर्यटन पूर्वाधार विकास, तथा पूर्वदेखि सुदूरपश्चिमसम्म ४१ कार्यक्रम सञ्चालन गरिएको जानकारी पनि उनले दिए।
“पर्यटन केवल एक कोर सेक्टर होइन, बहु–क्रस सेक्टर क्षेत्र हो,” उनले भने।
एनटीबीले सन् २०२५ मा विभिन्न क्षेत्रका २ हजार ६ सय पेशागत जनशक्तिलाई तालिम प्रदान गरेको र कञ्चनजंघा, मनास्लु तथा अपी–साइपाल क्षेत्रमा सस्टेनेबल टुरिजम परियोजनामार्फत ट्रेकिङ ट्रेल विकास, रोजगारी र बजार सिर्जनामा काम भइरहेको उनले बताए।
एनटीबीले सन् २०२६ का लागि ७ प्रमुख यात्रा प्रवृत्ति पनि सार्वजनिक गरेको छ, जसमा शोरभन्दा शान्ति, प्रशासनमा जेन–एआई, छनोटभन्दा विश्वास,हवाईमार्गभन्दा सडक,एकै ढाँचाभन्दा अत्यधिक व्यक्तिगत अनुभव, परीक्षण गरिएकाभन्दा अफ–ग्रिड गन्तव्य, संस्कृति प्राथमिकता समेटिएका छन्।


आगामी रणनीति प्रस्तुत गर्दै जोशीले २०२६–२०३५ रणनीतिक कार्ययोजना, डिजिटल–प्रेरित व्यावसायिकता, नवप्रवर्तनशील नीति, स्थानीय–वैश्विक अनुभवको संयोजन, अनुत्पादक कार्यक्रम हटाउँदै उच्च मूल्य पर्यटनमा केन्द्रित हुने स्पष्ट गरे।
कार्यक्रममा बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा ले निजी क्षेत्र र सरकारसँगको सहकार्यमा नतिजामुखी कार्यक्रम अघि बढाइँदै आएको बताए।
बोर्ड कर्मचारी संगठनका अध्यक्ष सन्तोष विक्रम थापा ले कर्मचारी वृत्ति विकास, आर्थिक विनियमावली सुधार र पदपूर्तिमा ध्यान दिनुपर्ने धारणा राखे।
कार्यक्रममा पाटा (PATA) सीईओ नुर अहमद हमिद, वर्ल्ड टुरिजम नेटवर्क तथा यूएन टुरिजम बाट भिडियो सन्देश जारी गरिएको थियो। साथै, बोर्डको वार्षिक प्रकाशन ‘इन–फोकस’ पनि विमोचन गरिएको छ।












