नेपालगन्जमा तमु ल्होसार तथा ल्हो (घोडा वर्ग) महोत्सव–२०८२ भव्य रूपमा सम्पन्न
नेपालगन्ज।तमु हयुल धि गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति बाँकेको आयोजनामा राष्ट्रिय पर्व तमु ल्होसार तथा ल्हो (घोडा वर्ग) महोत्सव–२०८२ नेपालगन्जमा भव्य रूपमा सम्पन्न भएको छ।
गुरुङ समुदायको मौलिक भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव २०८२ साल पौष १५ गते नेपालगन्ज–१, न्यू रोडस्थित बौद्ध गुम्बा परिसरमा सम्पन्न भएको हो।


कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले आफ्नो भाषा, धर्म र संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो। उहाँले यस्ता पर्व तथा महोत्सवहरूले समुदायको पहिचान संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
महोत्सवमा गुरुङ समुदायको सांस्कृतिक पहिचान झल्किने परम्परागत पोशाक, भेषभूषा, मौलिक सांस्कृतिक नृत्य, परम्परागत खानाका परिकार तथा धार्मिक विधिहरू प्रस्तुत गरिएको थियो।
कार्यक्रममा तमु ल्होसारको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे नेपाल मगर संघका अध्यक्ष भुपेन्द्र पुन, कोण्डे–घोण्डे समाजका अध्यक्ष कर्ण गुरुङ, तामाङ घेदुङका अध्यक्ष सरोज तामाङ, थारु कल्याणकारी संघका अध्यक्ष संगीता चौधरी, तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद्का पूर्व अध्यक्ष चेतबहादुर गुरुङ, युगबहादुर गुरुङ तथा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो।

यस अवसरमा तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद् बाँकेका पूर्व अध्यक्ष युगबहादुर गुरुङ, तमुस्योका पूर्व अध्यक्ष सीता गुरुङ तथा यूके निवासी महेश गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
कार्यक्रममा गुरुङ समुदायका अगुवा, बुद्धिजीवी, युवा, महिला तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। स्वागत मन्तव्य हरिता गुरुङले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सोम गुरुङ र शोभा गुरुङले गर्नुभएको थियो। कार्यक्रम तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद् जिल्ला बाँकेका अध्यक्ष भीम गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो।
यसैबीच, ल्होसारको अवसर पारेर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँके शाखाको आयोजनामा निःशुल्क स्वास्थ्य चेकजाँच कार्यक्रम पनि सञ्चालन गरिएको थियो। स्वास्थ्य चेकजाँच कार्यक्रम सफल बनाउन हरपल होलिस्टिक होम केयर सेन्टर, नेपाल युनाइट्स, मानवता नेपाल तथा गोपाल नीना फाउन्डेसनले सहकार्य गरेका थिए।
स्वास्थ्य चेकजाँच कार्यक्रममा १५० भन्दा बढी व्यक्तिको रक्तचाप (ब्लड प्रेसर) र सुगर परीक्षण गरिएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँकेका अध्यक्ष अशोक थापाले जानकारी दिनुभयो। आयोजक संस्थाले यस्ता कार्यक्रमहरूले समुदायबीच एकता, पहिचान र संस्कृतिको निरन्तरता कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।












