नेपालमै पहिलोपटक माउन्टेन बाइक गाइड लाइसेन्स वितरण साहसिक पर्यटनमा नयाँ इतिहास,२४ जनाले पाए आधिकारिक लाइसेन्स – Sagarmathapana:: Online News Portal

नेपालमै पहिलोपटक माउन्टेन बाइक गाइड लाइसेन्स वितरण साहसिक पर्यटनमा नयाँ इतिहास,२४ जनाले पाए आधिकारिक लाइसेन्स

   २०८२ पुष १५ गते  

काठमाडौं।नेपालको साहसिक पर्यटन क्षेत्रमा नयाँ इतिहास रचिँदै आज माउन्टेन बाइकिङ (MTB) पर्यटनले औपचारिक मान्यता पाएको छ। नेपालमै पहिलोपटक Adventure Tourism अन्तर्गत Mountain Bike Guide (हिमाली साइकल यात्रा गाइड) लाइसेन्स वितरण गरिएको छ।

बागमती प्रदेश सरकार अन्तर्गत संस्कृति तथा पर्यटन मन्त्रालय तथा पर्यटन कार्यालय काठमाडौंको आयोजनामा सम्पन्न कार्यक्रममा २४ जना प्रशिक्षित गाइडहरूलाई माउन्टेन बाइक गाइड लाइसेन्स प्रदान गरिएको हो। यो कार्यक्रम नेपालको माउन्टेन बाइकिङ पर्यटनका लागि एक ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ।



कार्यक्रमको औपचारिक उद्घाटन माननीय पर्यटन मन्त्री श्री सुरेश श्रेष्ठले गर्नुभएको थियो। उद्घाटन मन्तव्यमा मन्त्री श्रेष्ठले साहसिक पर्यटन नेपालको ठूलो सम्भावना भएको क्षेत्र भएको उल्लेख गर्दै माउन्टेन बाइकिङलाई व्यवस्थित, सुरक्षित र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

यो विशेष तालिम तथा लाइसेन्स वितरण कार्यक्रम नेपाल माउन्टेन एकेडेमी (Nepal Mountain Academy) को प्राविधिक सहकार्यमा सञ्चालन गरिएको हो। एकेडेमीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार तालिम प्रदान गर्दै दक्ष, जिम्मेवार र पेशागत माउन्टेन बाइक गाइड उत्पादन गर्ने उद्देश्य राखेको जनाएको छ।

तालिम कार्यक्रममा सहभागी गाइडहरूलाई हिमाली भौगोलिक संरचना, मार्ग पहिचान, पर्यटक सुरक्षा, प्राथमिक उपचार, जोखिम व्यवस्थापन, वातावरण संरक्षण तथा जिम्मेवार पर्यटन सम्बन्धी व्यावहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो।



पर्यटन विज्ञहरूका अनुसार माउन्टेन बाइकिङ नेपालका हिमाल, पहाड र ग्रामीण क्षेत्रसम्म पर्यटन विस्तार गर्ने प्रभावकारी माध्यम हो। यस कार्यक्रमले स्थानीय रोजगारी सिर्जना, ग्रामीण पर्यटन प्रवर्द्धन तथा नेपालको साहसिक पर्यटन ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारमा थप स्थापित गर्ने विश्वास गरिएको छ।

कार्यक्रममा सहभागी गाइडहरूले पहिलोपटक सरकारी मान्यता प्राप्त लाइसेन्स पाउँदा उत्साहित भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले यसले आफ्नो पेशालाई सुरक्षित र सम्मानजनक बनाएको उल्लेख गर्दै भविष्यमा अन्तर्राष्ट्रिय पर्यटकलाई गुणस्तरीय सेवा दिन थप प्रेरणा मिलेको बताएका छन्।

नेपालमा साहसिक पर्यटनको नयाँ ढोका खोल्दै सुरु गरिएको माउन्टेन बाइक गाइड लाइसेन्स वितरण कार्यक्रमले आगामी दिनमा थप गाइड उत्पादन गर्दै माउन्टेन बाइकिङलाई नेपालको प्रमुख पर्यटन गतिविधिका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै