एभरेस्ट समिटियर्स समिट २०२६ मे २७ मा काठमाडौंमा हुने
काठमाडौं।एभरेस्ट एलायन्स नेपालले “Himalayan Innovation for a Sustainable Future”भन्ने मूल नारासहित एभरेस्ट समिटियर्स समिट २०२६ आगामी मे २७ गते काठमाडौंमा आयोजना गर्ने घोषणा गरेको छ।
अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर आयोजना हुने यस समिटले तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीद्वारा सम्पन्न सगरमाथाको ऐतिहासिक पहिलो आरोहणको स्मरण गर्नेछ।


आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक संस्था एभरेस्ट एलायन्स नेपालले पहिलो संस्करणको सफलताका आधारमा दोस्रो संस्करण अझै प्रभावशाली र दूरदर्शी हुने जानकारी दिएको हो। समिटमा नेपाल तथा विश्वभरका सगरमाथा आरोही, नीति–निर्माता, पर्वतारोहण संस्थाका प्रतिनिधि, संरक्षण अभियन्ता, पर्यटन व्यवसायी, अनुसन्धानकर्ता तथा अन्तर्राष्ट्रिय साझेदारहरूको सहभागिता रहनेछ।
समिटले पर्वतारोहणको ऐतिहासिक धरोहर, आरोही सुरक्षा, जलवायु परिवर्तन, दिगो तथा हिमाली पर्यटनका भविष्यका विषयमा उच्चस्तरीय संवादको मञ्च प्रदान गर्ने आयोजकले जनाएको छ।
सन् २०२५ मा “Honoring the Legends, Inspiring the Future” नारासहित सम्पन्न पहिलो एभरेस्ट समिटियर्स समिट नेपालका पर्वतारोहण कार्यक्रमहरूमध्ये एक ऐतिहासिक र प्रभावशाली कार्यक्रमका रूपमा स्थापित भएको थियो। उक्त समिटले विश्वभरका सगरमाथा आरोही, सरकारी प्रतिनिधि, अन्तर्राष्ट्रिय पर्वतारोहण संस्था, संरक्षण विज्ञ तथा पर्यटन क्षेत्रका सरोकारवालालाई एकै थलोमा भेला गराउँदै नीतिगत छलफल, अन्तर्राष्ट्रिय सहकार्य र पर्वतीय संरक्षणमा नेपालको नेतृत्वलाई मजबुत बनाएको आयोजकको भनाइ छ।

एभरेस्ट एलायन्स नेपालले दोस्रो संस्करणलाई केवल स्मरणात्मक कार्यक्रममा सीमित नराखी सगरमाथा आरोहीहरूको सम्मान, आरोहण अनुभवहरूको संरक्षण, अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन तथा नैतिक र समुदाय–केन्द्रित पर्वतीय पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।
एकदिने समिटमा मुख्य वक्तव्य, विशेषज्ञ प्यानल तथा नीतिगत संवादहरू हुनेछन्। ती सत्रहरूमा हिमनदी पग्लिने समस्या, फोहोर व्यवस्थापन, आरोही कल्याण, अभियान सुरक्षा तथा नीतिगत सुधारजस्ता उच्च हिमाली क्षेत्रका ज्वलन्त चुनौतीमाथि छलफल गरिनेछ। साथै, सगरमाथालाई साझा विश्व सम्पदा मान्दै यसको सामूहिक संरक्षणको आवश्यकता पुनः पुष्टि गरिनेछ।
आयोजकका अनुसार, एभरेस्ट समिटियर्स समिट २०२६ मानव सहनशीलता, सहकार्य र प्रकृतिप्रतिको सम्मानको प्रतीकका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
एभरेस्ट एलायन्स नेपालले सरकारी निकाय,अन्तर्राष्ट्रिय संस्था, पर्वतारोहण महासंघ,शैक्षिक संस्था,प्रायोजक,विश्वव्यापी आरोहण समुदाय तथा सञ्चार माध्यमलाई हिमालयको दिगो भविष्यका लागि सहकार्य गर्न आह्वान गरेको छ।साथै,समिटमा सहभागिताका लागि दर्ता प्रक्रिया औपचारिक रूपमा खुला गरिएको पनि जनाएको छ।
एभरेस्ट एलायन्स नेपाल सगरमाथा आरोही तथा पर्वतीय पेशेवरहरूको राष्ट्रिय साझा मञ्च हो।संस्थाले सगरमाथाको विरासत संरक्षण, आरोही सुरक्षा,वातावरणीय दिगोपन,नैतिक पर्वतारोहण अभ्यास तथा विश्वव्यापी हिमाली संरक्षणमा नेपालको नेतृत्व सुदृढीकरणका लागि निरन्तर काम गर्दै आएको छ।












