फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद सम्पन्न
रामेछाप।नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष स्व. सत्यनारायण बहादुर श्रेष्ठको ११०औँ जन्मजयन्तीको अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद कार्यक्रम आयोजना गरेको छ।
आइतबार रामेछापमा सम्पन्न कार्यक्रममा जेन–जी आन्दोलनको पृष्ठभूमि, यसले नेपाली राजनीतिमा पारेको प्रभाव, युवापुस्ताको बढ्दो राजनीतिक सक्रियता तथा लोकतान्त्रिक अभ्यासमा आएको परिवर्तनका विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा फोनिज वाग्मती प्रदेश अध्यक्ष युवराज श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमाथि सहभागीहरूले आ–आफ्ना धारणा राख्दै गहन बहस गरेका थिए।



कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री एवं नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले गत भदौ २३ र २४ गते भएको नवयुवाहरूको आन्दोलनमा घुसपैठ भएको दाबी गरे। उनले केही समूहले आन्दोलनलाई आफ्नो स्वार्थअनुसार प्रयोग गरेको आरोप लगाउँदै आन्दोलनपछि बनेको अन्तरिम सरकारले निर्वाचनको वातावरण तयार गर्न नसकेको बताए। आगामी फागुन २१ गते निर्वाचन सम्भव नरहेको उल्लेख गर्दै वर्तमान राजनीतिक सङ्कटको निकास संसद् पुनः स्थापना नै भएको उनको धारणा थियो। संसद् पुनः स्थापनाको पक्षमा आफूले हस्ताक्षर गरिसकेको र विषय अदालतमा विचाराधीन रहेको पनि उनले बताए।
वाग्मती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समिति सभापति तथा नेकपा एमालेका नेता आनन्दकुमार श्रेष्ठले भदौ २३ गतेको आन्दोलन र भदौ २४ गते घटेको घटनालाई फरक–फरक रूपमा मूल्याङ्कन गर्दै निष्पक्ष छानबिन हुनुपर्ने बताए। भदौ २४ गतेको घटना आन्दोलन नभई स्पष्ट रूपमा विध्वंस भएको उनको भनाइ थियो। उनले एमाले संसद् पुनः स्थापनाको पक्षमा रहे पनि सरकारले निर्वाचनको वातावरण बनाएमा पार्टी निर्वाचनमा जान तयार रहेको स्पष्ट गरे।
मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले नवयुवाहरूको आन्दोलनका केही मागहरू जायज भए पनि निर्णायक मोडमा पुग्दा आन्दोलन दिशाहीन बनेको टिप्पणी गरे। आन्दोलन व्यक्तिगत रिसिवीमा केन्द्रित हुँदा व्यक्तिगत, संस्थागत तथा सरकारी सम्पत्तिमा ठूलो क्षति पुगेको र यसले देशलाई कम्तीमा १० वर्ष पछाडि धकेलेको उनको भनाइ थियो।
जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापाले लामो समयदेखि एउटै नेतृत्वको निरन्तरता, बढ्दो बेरोजगारी, महँगी, भ्रष्टाचार र सुशासनको अभावका कारण युवापुस्तामा असन्तुष्टि चुलिँदै जाँदा जेन–जी आन्दोलन जन्मिएको बताए। उनले आन्दोलनपछि बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचन गराउने स्पष्ट म्यान्डेट पाइसकेको उल्लेख गर्दै वर्तमान अवस्थामा निर्वाचन नै एक मात्र विकल्प भएको धारणा राखे।
नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपककुमार घिमिरेले जेन–जी आन्दोलनले राजनीतिक चेतना विस्तार गरेको, वैकल्पिक राजनीतिक धारको उदय गराएको र सामाजिक सञ्जालको प्रभावकारी प्रयोगलाई थप बलियो बनाएको बताए।
कार्यक्रम फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।
तस्बिर-अर्जुन तामाङ












