क्यामेराबाट मधेशको कथा विश्वसम्म : जनकपुरधाममा पर्यटन फोटो पत्रकारिता तालिम – Sagarmathapana:: Online News Portal

क्यामेराबाट मधेशको कथा विश्वसम्म : जनकपुरधाममा पर्यटन फोटो पत्रकारिता तालिम

   २०८२ पुष १३ गते  

जनकपुरधाम।जानकी मन्दिर,मिथिला चित्रकला र संस्कृतिको भूमिमा अब क्यामेराले मधेशका नयाँ पर्यटन कथाहरू खोज्न थालेको छ। मधेश प्रदेशका ओझेलमा परेका धार्मिक,सांस्कृतिक,ऐतिहासिक र प्राकृतिक गन्तव्यलाई दृश्य कथामार्फत विश्वसामु चिनाउने उद्देश्यले जनकपुरधाममा पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ।

नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना अन्तर्गत राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) र नेपाल पत्रकार महासंघ धनुषा शाखाको आयोजनामा दुईदिने तालिम सञ्चालन गरिएको हो।


तालिम उद्घाटन गर्दै दिगो पर्यटन परियोजनाका प्रबन्धक धर्मराज दवाडीले जनकपुरधामलाई केवल धार्मिक गन्तव्यका रूपमा मात्र बुझ्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए। “मिथिलाको कला, संस्कृति, समुदायको जीवनशैली र ऐतिहासिक सम्पदा आफैंमा पर्यटन कथाहरू हुन्,” उनले भने, “ती कथालाई फोटोमार्फत जीवन्त बनाउन सकिए मधेश प्रदेश विश्व पर्यटन नक्सामा नयाँ पहिचान बनाउन सक्छ।”

राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारिता आजको डिजिटल युगमा पर्यटन प्रवर्द्धनको शक्तिशाली माध्यम बनेको बताए। “एउटा बलियो तस्बिरले शब्दभन्दा धेरै बोल्छ,” उनले भने, “मधेशका गाउँ, चाडपर्व, नदी, सम्पदा र मानवीय कथाहरूले अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने क्षमता राख्छन्।

तालिममा सहभागी पत्रकारहरूलाई पर्यटन पत्रकारिताको आधार, गन्तव्य ब्रान्डिङ, दृश्य कथाको प्रभाव र फोटो फिचर निर्माणबारे प्रशिक्षण दिइएको छ। नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलिप प्रकाश कार्की र फोटो पत्रकार सुनिल चुडामणि बज्राचार्यले सैद्धान्तिक र प्राविधिक प्रशिक्षण प्रदान गरिरहेका छन्।

तालिमको दोस्रो दिन सहभागीहरू जनकपुरधाम र आसपासका सांस्कृतिक तथा पर्यटकीय स्थलमा पुगेर प्रत्यक्ष तस्बिर कथा तयार गर्नेछन्। आयोजकका अनुसार ती तस्बिर कथाहरू भविष्यमा मधेश प्रदेशको पर्यटन प्रवर्द्धन सामग्रीका रूपमा प्रयोग गरिनेछ।

मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका करिब ३० जना फोटो तथा पर्यटन पत्रकार सहभागी तालिमले स्थानीय गन्तव्य, संस्कृति र समुदायका कथालाई नयाँ दृष्टिकोणबाट प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै