मिस हात्ती प्रतियोगितामा पुनम कली ‘मिस हात्ती सुन्दरी २०८२’ घोषित
चितवन।चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनको आयोजनामा १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव विभिन्न कार्यक्रमसहित जारी रहेको छ। महोत्सवले पर्यटन प्रवर्द्धन, स्थानीय संस्कृति संरक्षण तथा हात्ती संरक्षणसम्बन्धी सन्देश प्रवाह गर्ने उद्देश्य लिएको आयोजकले जनाएको छ।
महोत्सवको पहिलो दिन शुक्रबार चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट भव्य शोभायात्रा निकालिएको थियो। त्यसपछि हात्तीको पेनाल्टी सुटआउट प्रतियोगिता तथा सांस्कृतिक प्रस्तुति गरिएको थियो, जसले दर्शकलाई उत्साहित बनाएको थियो।



आज दोस्रो दिन मङ्गलधुनसँगै प्रत्यक्ष हात्ती सुन्दरी प्रतियोगिता, हात्ती स्वास्थ्य शिविर तथा संरक्षण र पर्यटनसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। शनिबार आयोजित मिस हात्ती प्रतियोगितामा पुनम कली ‘मिस हात्ती सुन्दरी २०८२’ घोषित भएकी छन्। सोही दिन डुङ्गा दौड, विभिन्न खेलकुद प्रतियोगिता तथा लोकदोहोरीसहितका सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको आयोजकले जनाएको छ।
महोत्सवको अन्तिम दिन हात्ती पूजा, हात्ती बनभोज, विभिन्न प्रतियोगिताको नतिजा सार्वजनिक, पुरस्कार तथा प्रशंसापत्र वितरणसँगै औपचारिक समापन समारोह आयोजना गरिनेछ।
आयोजकका अनुसार हात्ती तथा पर्यटन महोत्सवले सौराहाको पर्यटन गतिविधिलाई चलायमान बनाउनुका साथै स्थानीय संस्कृति, जैविक विविधता र हात्ती संरक्षणको महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। महोत्सव अवधिभर स्वदेशी तथा विदेशी पर्यटकको उल्लेख्य उपस्थिति रहने विश्वास पनि आयोजकले व्यक्त गरेका छन्।














