लैङ्गिक संवेदनशील र दिगो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक : अध्यक्ष ढकाल
काठमाडौं।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन क्षेत्रको दिगो विकासका लागि लैङ्गिक संवेदनशील, दिगो तथा लचिलो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक रहेको बताएका छन्।
काठमाडौंमा आयोजित “लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवर्द्धन” विषयक उच्चस्तरीय नीतिगत संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रमा रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन तथा स्थानीय जीविकोपार्जनको महत्वपूर्ण आधारका रूपमा स्थापित रहेको बताए।


उनले होमस्टे तथा समुदायमा आधारित पर्यटनका माध्यमबाट महिला उद्यमशीलताको प्रवर्द्धन भइरहेको उल्लेख गर्दै पर्यटन क्षेत्रले महिलालाई आत्मनिर्भर बनाउने महत्वपूर्ण भूमिका खेलेको बताए।
“पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधार हो। आन्तरिक तथा बाह्य दुवै पर्यटनले देशको आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याइरहेका छन्,” अध्यक्ष ढकालले भने, “पछिल्लो समय आन्तरिक पर्यटन फस्टाउँदै गएको छ, जसले रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र चलायमान बनाउन ठूलो सहयोग गरेको छ।”
पर्यटन क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको उल्लेख गर्दै उनले नेपाल उद्योग वाणिज्य महासंघले महिलाको उद्यमशीलता विकास र नेतृत्व क्षमतामा वृद्धि गर्न विभिन्न नीतिगत सुधारहरू गरेको जानकारी दिए। महासंघको विधान संशोधन गरी नेतृत्व तहमा महिला सहभागिता बढाउने पहल गरिएको उनले बताए।
अध्यक्ष ढकालले नेपालमा प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै “नेपालमा केही भएको छैन” भन्ने नकारात्मक भाष्य परिवर्तन गर्नुपर्नेमा जोड दिए। साथै, आन्तरिक पुँजी परिचालनमार्फत पनि पूर्वाधार निर्माण तथा उद्यमशील गतिविधि सम्भव रहेको स्पष्ट पारे।
महासंघको पहलमा १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरी काम अघि बढाइएको जानकारी दिँदै उनले आन्तरिक बचत एकीकृत गर्न र उद्यमशीलताका लागि आवश्यक पुँजी व्यवस्थापनमा कम्पनीले सहयोग गर्ने बताए।
कार्यक्रम एकेडेमी अफ इनोभेसन फर इकोनोमिक डेभलपमेन्ट नेपालको आयोजनामा, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP)को संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा सम्पन्न भएको हो।












