ट्रेकिङ गाइडका लागि ट्रेल इन्स्पेक्टर तथा अडिटर तालिम सुरु
काठमाडौँ।ट्रेकिङ गाइडहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ५ दिने “ट्रेल इन्स्पेक्टर तथा अडिटर तालिम”सोमबारदेखि काठमाडौँको ठमेल स्थित मुनलाइट होटलमा सुरु भएको छ।तालिम २२ डिसेम्बर २०२५ देखि प्रारम्भ भएको हो।
तालिममा देशका विभिन्न प्रमुख ट्रेकिङ गन्तव्यहरू—इलाम, मकालु क्षेत्र,सगरमाथा क्षेत्र, रोल्वालिङ, मनास्लु, अन्नपूर्ण,डोल्पा, रारा–जुम्ला तथा धौलागिरी–सिस्ने क्षेत्रबाट आएका २२ जना अनुभवी लाइसेन्स प्राप्त ट्रेकिङ गाइडहरूको सहभागिता रहेको छ, जसमा ३ जना महिला गाइड पनि छन्।


उक्त तालिम ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (TAAN) र सस्टेनेबल टुरिज्म प्रोजेक्ट (STP) को संयुक्त आयोजनामा भइरहेको हो। एसटीपी नेपाल पर्यटन बोर्ड (NTB) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को सहकार्यमा सञ्चालन भइरहेको परियोजना हो।
तालिमको मुख्य उद्देश्य ट्रेकरहरूलाई सुरक्षित, दिगो र गुणस्तरीय ट्रेकिङ अनुभव प्रदान गर्नुका साथै ट्रेल वरपरका समुदायलाई लाभान्वित गर्दै प्राकृतिक पारिस्थितिको संरक्षणमा योगदान पुर्याउनु रहेको छ। यस तालिममार्फत पेशागत ट्रेकिङ गाइडहरूको क्षमता अभिवृद्धि गरी ट्रेकिङ ट्रेलहरूको अवस्थाको मूल्याङ्कन, विकास, मर्मतसम्भार तथा स्तरोन्नतिका लागि आवश्यक तयारी र तत्परतामा सघाउ पुग्ने अपेक्षा गरिएको छ।


तालिमको छोटो उद्घाटन कार्यक्रम TAAN का महासचिव सोनाम जी. शेर्पाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा TAAN कार्यसमिति सदस्य तथा तालिम विभाग संयोजक राजु गुरुङले सहजीकरण गर्नुभएको थियो भने TAAN कार्यसमिति सदस्य तथा तालिम विभाग सह–संयोजक अम्बिर बहादुर गुरुङले सहभागीहरूलाई स्वागत मन्तव्य दिनुभएको थियो।

तालिममा TAAN, राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC), नेपाल पर्यटन बोर्ड (NTB), जल तथा मौसम विज्ञान विभाग (DoMH), राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (DNPWC), वन तथा माटो संरक्षण विभाग (DoFSC) लगायत विभिन्न संस्थाका विज्ञ स्रोत व्यक्तिहरूले सहजीकरण गरिरहेका छन्।












