पर्यटन क्षेत्रमा महिला सशक्तिकरणबारे काठमाडौँमा उच्चस्तरीय छलफल – Sagarmathapana:: Online News Portal

पर्यटन क्षेत्रमा महिला सशक्तिकरणबारे काठमाडौँमा उच्चस्तरीय छलफल

   २०८२ पुष ९ गते  

काठमाडौं।नेपालमा लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवर्द्धनका लागि काठमाडौँमा उच्चस्तरीय नीतिगत संवाद सम्पन्न भएको छ । बुधबार आयोजित उक्त संवादमा नीति निर्माता, विकास साझेदार, निजी क्षेत्रका प्रतिनिधि, महिला पर्यटन उद्यमी तथा विज्ञहरूको सहभागिता रहेको थियो ।

एकेडेमी अफ इनोभेसन फर इकोनोमिक डेभलपमेन्ट नेपाल (ACED Nepal) को आयोजनामा तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) को संयुक्त पहल अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । संवादको मुख्य उद्देश्य महिला नेतृत्वमा सञ्चालित पर्यटन उद्यमलाई सहयोग पुग्ने नीतिगत तथा कार्यक्रमगत सुधारलाई सुदृढ गर्नु रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा पर्यटन क्षेत्रले रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन तथा स्थानीय जीविकोपार्जनमा खेलेको भूमिकाबारे चर्चा गरिएको थियो । होमस्टे, आवास सेवा, हस्तकला, खाद्य सेवा तथा समुदायमा आधारित पर्यटनजस्ता सूक्ष्म, साना तथा मझौला उद्यममा महिलाको उल्लेखनीय योगदान रहेको उल्लेख गर्दै, कोभिड–१९ महामारी, प्राकृतिक विपद्, जलवायु परिवर्तन र आर्थिक मन्दीजस्ता संकटले महिला नेतृत्वमा सञ्चालित उद्यमहरू बढी प्रभावित भएको विषय उठान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लैङ्गिक संवेदनशील र दिगो पर्यटन प्रवर्द्धनका लागि यस्ता संवाद महत्वपूर्ण रहेको बताए । “महिलाको सहभागिता बढाउन कानुनी तथा नीतिगत सुधार भएका छन्, तर अझै धेरै काम गर्न बाँकी छ,” उनले भने । उनले आन्तरिक पुँजी परिचालनमार्फत नेपालमै ठूला परियोजना सञ्चालन गर्न सकिने सम्भावना रहेको पनि उल्लेख गरे ।

एक्याड नेपालकी प्रमुख कार्यकारी अधिकृत दुर्गा थापाले नीति प्रतिबद्धता र व्यवहारिक कार्यान्वयनबीचको दूरी घटाउन नीतिगत संवाद आवश्यक रहेको बताइन् । उनले पर्यटन क्षेत्रको पुनरुत्थान र रूपान्तरणमा लैङ्गिक उत्तरदायित्व, दिगोपन र सहनशीलतालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिइन् ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले समुदाय तहमा महिला नेतृत्वमा सञ्चालित पर्यटन उद्यमहरू नेपालको पर्यटन प्रणालीका मेरुदण्ड भएको बताए । “महिला उद्यमी सशक्तिकरण बिना समावेशी, प्रतिस्पर्धी र दिगो पर्यटन सम्भव छैन,” उनले भने ।

कार्यक्रममा लैङ्गिक उत्तरदायी पर्यटन उद्यमशीलता, महिला नेतृत्वमा सञ्चालित उद्यमको सहनशीलता अभिवृद्धि तथा नीतिगत सुधारका विषयमा दुई मुख्य सत्र र दुई प्यानल छलफल सञ्चालन गरिएको थियो । छलफलमार्फत आर्थिक, जलवायु र बजारसम्बन्धी जोखिम न्यूनीकरणका उपाय तथा प्राथमिक कार्यदिशा पहिचान गरिएको जनाइएको छ ।

उक्त संवादबाट प्राप्त नीतिगत सुझाव र सरोकारवालाबीचको सहकार्यले आगामी दिनमा महिला आर्थिक सशक्तिकरण तथा समावेशी पर्यटन विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै