पर्यटक सुरक्षामा जोड: चितवनका जंगल–सफारी गाइडलाई विशेष तालिम – Sagarmathapana:: Online News Portal

पर्यटक सुरक्षामा जोड: चितवनका जंगल–सफारी गाइडलाई विशेष तालिम

   २०८२ पुष ८ गते  

चितवन।चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा कार्यरत जंगल–सफारी तथा प्रकृति गाइडहरूको सुरक्षा तथा आपतकालीन प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले वाइल्डरनेस फस्ट–एड तालिम सम्पन्न भएको छ।

नेपाल पर्यटन बोर्ड (NTB) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (STP) अन्तर्गत उक्त तालिम आयोजना गरिएको हो।तालिम हिमालयन मेडिक्सको प्राविधिक सहकार्य तथा नेचर गाइड एसोसिएसन, चितवन राष्ट्रिय निकुञ्जको समन्वयमा सञ्चालन गरिएको थियो।

दुई दिनसम्म (पुष ७–८) सञ्चालन भएको तालिममा चितवन राष्ट्रिय निकुञ्ज आसपास कार्यरत २४ जना जंगल–सफारी तथा प्रकृति गाइडहरूको सहभागिता रहेको थियो। तालिममा आकस्मिक दुर्घटना, वन्यजन्तु आक्रमण,सर्पदंश,चोटपटक,अत्यधिक गर्मी वा चिसोका कारण उत्पन्न स्वास्थ्य समस्या, प्राथमिक उपचार, सीपीआर, घाइतेको सुरक्षित उद्धार तथा स्थानान्तरणसम्बन्धी विषयमा व्यावहारिक अभ्याससहित प्रशिक्षण प्रदान गरिएको थियो।

तालिमका मुख्य प्रशिक्षक अजय नरसिंह राणाले जंगल, नदी तथा दुर्गम क्षेत्रमा हुन सक्ने आपतकालीन स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै गाइडहरूमा तत्काल प्रतिक्रिया दिन सक्ने सीप अत्यन्त आवश्यक रहेको बताए।

“पर्यटकको सुरक्षामा गाइडको भूमिका पहिलो र निर्णायक हुन्छ। यस्ता तालिमले जोखिमपूर्ण अवस्थामा जीवन जोगाउन महत्वपूर्ण योगदान पुर्‍याउँछ, उनले भने।


चितवन राष्ट्रिय निकुञ्ज नेपालका प्रमुख प्रकृति तथा वन्यजन्तु पर्यटन गन्तव्यहरूमध्ये एक हो, जहाँ हरेक वर्ष ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्छन्।सुरक्षित, उत्तरदायी र व्यावसायिक पर्यटन प्रवर्द्धनका लागि गाइडहरूको क्षमता अभिवृद्धि अपरिहार्य रहेको दिगो पर्यटन परियोजनाका प्रबन्धक धर्मराज दवाडीले बताए।

उनले भने, “यस तालिमले पर्यटक सुरक्षामा सुधार ल्याउनुका साथै स्थानीय गाइडहरूको व्यावसायिकता,आत्मविश्वास र अन्तर्राष्ट्रिय स्तरको सेवा गुणस्तर बढ्ने विश्वास लिएका छौं।

आगामी दिनमा यस्ता तालिमहरू अन्य संरक्षित क्षेत्रहरूमा पनि विस्तार गर्ने तयारी रहेको आयोजकले जनाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै