CITM 2025 बाट नेपाललाई ठूलो सफलता,पर्यटन प्रवर्द्धनमा नयाँ आयाम – Sagarmathapana:: Online News Portal

CITM 2025 बाट नेपाललाई ठूलो सफलता,पर्यटन प्रवर्द्धनमा नयाँ आयाम

   २०८२ पुष ८ गते  

काठमाडौं।चीनको हाइनान प्रान्तस्थित हाइकोउमा डिसेम्बर १९–२१, २०२५ सम्म आयोजना भएको चाइना इन्टरनेशनल ट्राभल मार्केट (CITM 2025) मा नेपालले उल्लेखनीय सफलता हासिल गरेको छ। नेपाल टुरिजम बोर्ड (NTB) को नेतृत्वमा भएको सहभागिताले नेपाललाई छिमेकी तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्न सफल भएको छ।

नेपाल एयरलाइन्ससहित पर्यटन व्यवसायसँग सम्बन्धित ७ वटा निजी कम्पनीको सहभागितामा नेपालले ‘नेपाल–लाइफटाइम एक्सपेरियन्स’ ब्रान्डलाई विशेष रूपमा प्रस्तुत गरेको थियो। हिमाल, बौद्ध स्तूपको आकृति, जीवित देवी कुमारी, साहसिक पर्यटन गतिविधि तथा प्राकृतिक सौन्दर्य झल्किने सामग्रीसहित सजाइएको नेपाल पवेलियनले CITM 2025 को ‘बेस्ट बुथ अवार्ड’ जित्न सफल भयो।

तीन दिने मेलामा नेपाल पवेलियनमा प्रस्तुत गरिएको सांस्कृतिक नृत्य तथा झाँकीले दर्शक तथा सहभागीहरूको ध्यान आकर्षित गरेको थियो। मेलामा आएका आगन्तुकहरूले नेपालका पर्यटन गतिविधि, यात्रा पहुँच, प्रवेश नियमलगायत विषयमा चासो देखाएका थिए। साथै, नेपाली पर्यटन व्यवसायीहरूले B2B बैठकमार्फत चिनियाँ खरिदकर्तासँग प्रत्यक्ष भेटघाट तथा व्यवसायिक छलफल गरेका थिए।

मेलाकै अवसरमा डिसेम्बर १९ मा ग्वाङ्झाउस्थित नेपाली महावाणिज्य दूतावासको आयोजनामा ‘एक्सप्लोर नेपाल’ साँझ कार्यक्रम पनि सम्पन्न भयो। कार्यक्रममा हाइनानका सरकारी अधिकारी, पर्यटन व्यवसायी तथा मेलामा सहभागी नेपाली प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। हाइकोउ नगर विदेशी मामिला कार्यालयकी महानिर्देशक लिन छियान प्रमुख अतिथिका रूपमा सहभागी थिइन्।

कार्यक्रममा ग्वाङ्झाउका लागि नेपाली महावाणिज्य दूत भरत खनाल ले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध र नेपालको पर्यटन सम्भावनाबारे प्रकाश पारे। नेपाल टुरिजम बोर्डकी वरिष्ठ प्रबन्धक अर्चना के.सी. राना ले गन्तव्य प्रस्तुति दिँदै सांस्कृतिक, प्राकृतिक, साहसिक तथा वेलनेस पर्यटनमा नेपालको विशिष्टता प्रस्तुत गरिन्। उनले चीन नेपालका लागि अत्यन्तै महत्वपूर्ण पर्यटन बजार भएको पनि उल्लेख गरिन्।

कार्यक्रमपछि भएको B2B तथा नेटवर्किङ सत्रले नेपाली र चिनियाँ पर्यटन व्यवसायीबीच नयाँ सहकार्य र साझेदारीको ढोका खोलेको सहभागीहरूले बताएका छन्। निजी क्षेत्रका प्रतिनिधिहरूले मेलाबाट सकारात्मक नतिजा आउनेमा आशावाद व्यक्त गरेका छन्।

सन् २००४ देखि निरन्तर आयोजना हुँदै आएको CITM चीनकै सबैभन्दा ठूला पर्यटन मेलामध्ये एक हो। यस वर्ष पहिलो पटक हाइनान प्रान्तको सुन्दर तटीय सहर हाइकोउमा आयोजना गरिएको मेलामा नेपालको सहभागितालाई ऐतिहासिक र सफल मानिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै