फोनिजको तेस्रो पूर्ण बैठक पोखरामा सम्पन्न,निर्णायक संघर्षका कार्यक्रम घोषणा
पोखरा।नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को तेस्रो पूर्ण बैठक पोखराको कालाबाङ घरेडी सामुदायिक होमस्टेमा सम्पन्न भएको छ। शुक्रबारदेखि सुरु भएको बैठक शनिबार विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो।
पोखरा महानगरपालिका–२२ स्थित कालाबाङ घरेडी सामुदायिक होमस्टेमा सम्पन्न बैठकले फोनिजका गतिविधिलाई थप सशक्त, प्रभावकारी र संगठनात्मक रूपमा मजबुत बनाउँदै अघि बढ्ने निर्णय गरेको छ। बैठकमा विगतका गतिविधिको समीक्षा गर्दै आगामी कार्ययोजना तय गरिएको छ।


बैठकले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षसम्बन्धी अध्ययन समिति गठन गर्न महासंघलाई पुनः दबाब दिने निर्णय गरेको छ। पटक–पटक ज्ञापनपत्र र अल्टिमेटम दिँदासमेत महासंघको महाधिवेशनले दिएको म्यान्डेट कार्यान्वयन नभएको भन्दै फोनिजले खेद प्रकट गरेको छ। महासंघ गम्भीर नबने देशव्यापी रूपमा महासंघको कार्यालयमा तालाबन्दीसम्मका संघर्षका कार्यक्रम अघि बढाउने विषयमा संघीय समितिमा छलफल भएको जनाइएको छ।
बैठकले फोनिजकर्मीको क्षमता अभिवृद्धिका लागि राष्ट्रिय स्तरका कार्यशाला, गोष्ठी तथा प्रशिक्षणमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। साथै, संगठनलाई चुस्त बनाउन स्पष्ट कार्ययोजनासहित गतिविधि अघि बढाउने र मातृभाषा पत्रकारिताको प्रवर्द्धनका लागि अभियान सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ।


फोनिजका अध्यक्ष लक्की चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा सल्लाहकार डण्ड गुरुङले संगठनात्मक कामलाई प्राथमिकतामा राखी इमान्दारितापूर्वक अघि बढ्न सुझाव दिनुभयो। फोनिज बलियो भए मात्र आदिबासी जनजातिको अधिकारको सवाल सशक्त रूपमा उठ्न सक्ने उहाँको भनाइ थियो।
सल्लाहकार उजीर मगरले फोनिजको स्थापना र विकासमा ठूलो संघर्ष रहेको उल्लेख गर्दै यसको गरिमा जोगाउँदै सामूहिक प्रयासमार्फत संगठनात्मक गतिविधि बलियो बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। २०५६ साउन २७ गते तत्कालीन अनिजका नामबाट स्थापना भएको संस्था आज फोनिजका रूपमा ठूलो शक्तिमा रूपान्तरण भएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो।



संघीय अध्यक्ष चौधरीले फोनिज आदिबासी जनजातिको अधिकारको पैरवी, पत्रकारिताको विकास, अभिव्यक्ति स्वतन्त्रता तथा जिम्मेवार र समावेशी पत्रकारिताको प्रवर्द्धनमा केन्द्रित रहेको बताउनुभयो। आगामी दिनमा फोनिजलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
बैठकमा फोनिजका सल्लाहकारहरू, संघीय समितिका पदाधिकारी तथा सदस्य, प्रदेश कमिटीका अध्यक्ष तथा इन्चार्ज, जातीय पत्रकार संस्थाका अध्यक्षहरूले आ–आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए।
तेस्रो पूर्ण बैठकमा काठमाडौं उपत्यका सहितको विशेष समन्वय समिति, सातै प्रदेश कमिटी, गण्डकी प्रदेशका जिल्ला अध्यक्षहरू गरी ६५ जनाको सहभागिता रहेको थियो। बैठकले ‘कास्की घोषणापत्र’ समेत जारी गरेको छ।
२६ वर्षअघि स्थापना भएको फोनिजमा हाल देशभर ६६ जिल्ला शाखा, ८ विदेश शाखा, काठमाडौं उपत्यकासहित ८ प्रदेश कमिटी र ८ जातीय पत्रकार संस्थामार्फत करिब साढे चार हजार आदिबासी जनजाति पत्रकार आवद्ध छन्।












