काठमाडौंका विभिन्न डान्सबार र स्पामा छापा, पाँच जना पक्राउ, आठ नाबालिकाको उद्धार
काठमाडौं।प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न डान्सबार, स्पा सेन्टर, क्लब तथा गेस्टहाउसमा छापा मारेर पाँच जनालाई पक्राउ गरेको छ भने आठ जना नाबालिकाको उद्धार गरेको छ।
नाबालिकालाई आर्थिक लाभ लिई यौनशोषण तथा वेश्यावृत्तिमा लगाउने कार्य भइरहेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले छापा मारेको हो।


प्रहरीले ठमेलस्थित गोल्डेन स्पा, चाबहिलको फायर लाउन्ज एन्ड क्लब, बौद्धको लक्की स्पा, मित्रनगरको सुदूरपश्चिम खाजाघर र खप्तड सुदूरपश्चिम गेस्टहाउसमा छापा मारेको जनाएको छ।
छापाका क्रममा स्पा र होटलहरूबाट आठ जना नाबालिकाको उद्धार गरिएको छ। घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोले जानकारी दिएको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१३ का ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका–१२ की ४० वर्षीया गीताकुमारी आचार्य, सल्यान कुमाख गाउँपालिका–४ का ४५ वर्षीय गोविन्द बुढाथोकी, बझाङ छबिसपाथीभेरा गाउँपालिका–१ का ४२ वर्षीय हरिभक्त गिरी र कैलाली गौरीगङ्गा नगरपालिका–६ का ४९ वर्षीय भीमबहादुर साउद रहेका छन्।
नाबालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।












