चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको चिनियाँ भाषा तालिम सम्पन्न
काठमाडौं।नेपालमा चिनियाँ पर्यटक लक्षित दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको सातौँ संस्करणको चिनियाँ भाषा तालिम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना तथा काठमाडौंस्थित चिनियाँ दूतावास र नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद् (एनसिसिइसी) को सहकार्यमा पर्यटन व्यवसायीहरूका लागि सञ्चालन गरिएको तालिम शुक्रबार औपचारिक रूपमा सम्पन्न भएको हो ।
हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको यस तालिममार्फत वार्षिक रूपमा ५० भन्दा बढी नेपाली पर्यटन व्यवसायी तथा विद्यार्थीहरूलाई चिनियाँ भाषा प्रशिक्षण प्रदान गरिँदै आएको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा राष्ट्रपति सि जिनपिङसँग भएको भेटपछि हस्ताक्षर गरिएको द्विपक्षीय सहायता सम्झौतापश्चात् यो कार्यक्रम सुरु गरिएको हो । यस कार्यक्रमले नेपाल–चीन पर्यटन तथा जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउँदै आएको आयोजकले जनाएको छ।


तालिम समापन समारोहमा चिनियाँ दूतावासका उपप्रमुख (डिसिएम) झोउ पान, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐयरलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । सो अवसरमा सातौँ ब्याचका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
समारोहका क्रममा सहभागीहरूले चिनियाँ भाषामा आफ्ना सीप प्रस्तुत गर्दै सांस्कृतिक कार्यक्रम तथा मार्शल आर्ट प्रदर्शनसमेत गरेका थिए । सहभागीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति र भाषिक दक्षताले तालिमको प्रभावकारिता स्पष्ट पारेको वक्ताहरूले उल्लेख गरे ।


कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ दूतावासका उपप्रमुख झोउ पानले नेपाली विद्यार्थीहरूको चिनियाँ भाषा तथा संस्कृतिप्रतिको उत्साह र समर्पणप्रति खुशी व्यक्त गरे । उनले चिनियाँ भाषामा दक्षता हासिल गर्नु विश्वकै ठूलो पर्यटन बजारसम्म पहुँचको ढोका खोल्ने माध्यम हुने उल्लेख गर्दै यसले नेपालको पर्यटन उद्योग र समग्र अर्थतन्त्रलाई फाइदा पुर्याउने विश्वास व्यक्त गरे । चीनको १५औँ पञ्चवर्षीय योजनामा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिइएकाले त्यसको सकारात्मक प्रभाव नेपालसम्म पनि विस्तार हुने उनको भनाइ थियो ।
नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिश शाहले अन्तर्राष्ट्रिय व्यापार र पर्यटन क्षेत्रमा चिनियाँ भाषाको बढ्दो महत्त्व औँल्याउँदै यसले नेपाली पर्यटन क्षेत्रलाई दीर्घकालीन लाभ पुर्याउने बताए । पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले चिनियाँ पर्यटकहरूका लागि नेपाललाई प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्न यस प्रकारको भाषा तालिम अत्यन्त उपयोगी रहेको उल्लेख गरे ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐयरले सातौँ ब्याचका सहभागीहरूलाई बधाई दिँदै भविष्यमा पनि कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । चिनियाँ भाषामा दक्ष मानव संसाधन विकासले चिनियाँ पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्न र नेपालको पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउन सहयोग पुग्ने उनले बताए ।
यसै क्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत रोबिन रेग्मीले यो कार्यक्रम बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको सहकार्यमा सञ्चालन हुँदै आएको निरन्तर क्षमता अभिवृद्धि पहलको हिस्सा भएको जानकारी दिए । उनका अनुसार कार्यक्रमको उद्देश्य पर्यटन मात्र नभई व्यापार, आर्थिक गतिविधि तथा अन्य क्षेत्रमा समेत उपयोगी हुने गुणस्तरीय चिनियाँ भाषा दक्ष जनशक्ति उत्पादन गर्नुका साथै दुई देशबीचको जनस्तरीय सम्बन्धलाई अझ सुदृढ बनाउनु रहेको छ ।
यस प्रकारका पहलहरूले नेपाल र चीनबीचको जनस्तरीय सम्बन्धलाई थप मजबुत बनाउँदै पर्यटन प्रवर्द्धन तथा आर्थिक सहकार्य विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास नेपाल पर्यटन बोर्डले व्यक्त गरेको छ ।












