अन्नपूर्ण’ पुस्तकको नेपाली अनुवाद विमोचन,नेपाल–फ्रान्स मैत्री र पर्वतारोहण इतिहासलाई नयाँ उचाइ
काठमाडौँ-फ्रान्सेली दूतावास नेपाल र एलायन्स फ्रान्सेज काठमाडौँको संयुक्त आयोजनामा विश्वप्रसिद्ध पुस्तक ‘अन्नपूर्ण’ को नेपाली अनुवाद विमोचन कार्यक्रम सम्पन्न भएको छ।
फ्रान्सेली पर्वतारोही मौरिस हेर्जोगद्वारा लिखित उक्त पुस्तक सन् १९५० मा मानव इतिहासमै पहिलो पटक ८ हजार मिटरभन्दा अग्लो शिखर अन्नपूर्ण–१ आरोहण गरिएको ऐतिहासिक यात्राको जीवित दस्तावेज हो। अब यो कृति नेपाली भाषामा उपलब्ध भएपछि नेपाली पाठकहरूले आफ्नै भाषामा विश्व पर्वतारोहण इतिहासको महत्वपूर्ण अध्याय पढ्न पाउने भएका छन्।


विमोचन कार्यक्रममा नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध, अन्नपूर्ण हिमालको ऐतिहासिक महत्व तथा पर्वतारोहण संस्कृतिबारे वक्ताहरूले चर्चा गरे। वक्ताहरूले यस अनुवादले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै हिमाल र पर्वतारोहणप्रतिको नयाँ पुस्ताको चासो बढाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा साहित्यकार, पर्वतारोही, अनुवादक, कूटनीतिज्ञ तथा हिमालप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजक संस्थाहरूले यस किसिमका साहित्यिक तथा सांस्कृतिक आदान–प्रदानले नेपाल–फ्रान्स मित्रतालाई थप सुदृढ बनाउने बताएका छन्।
नेपाली अनुवादमार्फत ‘अन्नपूर्ण’ अब केवल एउटा पर्वतारोहण कथा मात्र नभई नेपालकै हिमाली विरासत र विश्व इतिहाससँग जोडिएको अमूल्य दस्तावेजका रूपमा नेपाली पाठकहरूसमक्ष उपस्थित भएको छ।













