नेपाल सरकारले कतारलाई उपहारस्वरूप दुई हात्ती पठायो
भैरहवा।नेपाल सरकारले मित्र राष्ट्र कतार सरकारलाई उपहारस्वरूप दुई हात्ती प्रदान गरेको छ। रुद्रकली र खगेन्द्रप्रसाद नामक ६–६ वर्षे ती हात्तीहरू भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट Qatar Airways को चार्टर्ड विमानमार्फत कतार पठाइएको हो।
हात्तीहरूको सुरक्षित ढुवानीका लागि विशेष व्यवस्था गरिएको थियो। उनीहरूको हेरचाह तथा व्यवस्थापनका लागि २ जना माउते र २ जना सुसारेलगायत कुल ४ जना नेपाली नागरिक पनि हात्तीहरूसँगै कतार गएका छन्।

सरकारका अनुसार यो उपहार नेपाल–कतारबीचको कूटनीतिक सम्बन्ध, मित्रता र सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले प्रदान गरिएको हो। हात्तीहरू वन्यजन्तु संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्दै पठाइएको बताइएको छ।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक यति ठूला वन्यजन्तु चार्टर्ड विमानमार्फत विदेश पठाइनु आफैंमा महत्वपूर्ण उपलब्धि मानिएको छ। यसले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूको क्षमता र व्यवस्थापन पक्षलाई पनि उजागर गरेको सरोकारवालाहरूले बताएका छन्।












