काठमाडौं महानगरका विद्यालयमा ३० हजारभन्दा बढी विद्यार्थी छात्रवृत्तिमा,शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति – Sagarmathapana:: Online News Portal

काठमाडौं महानगरका विद्यालयमा ३० हजारभन्दा बढी विद्यार्थी छात्रवृत्तिमा,शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति

   २०८२ पुष २ गते  

काठमाडौं।काठमाडौं महानगरपालिका भित्रका विद्यालय हरूमा शैक्षिक सत्र २०८१ मा ३० हजार ७७९ जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाएका छन्। महानगरपालिकाले छात्रवृत्ति वितरणलाई प्रणालीमा आधारित बनाएपछि छात्रा, दलित, अपाङ्ग तथा आवासीय छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीको संख्या उल्लेखनीय रूपमा बढेको हो।

महानगरको शिक्षा विभागका अनुसार छात्रा छात्रवृत्तिमा ५ हजार ८९५ जना, दलित छात्रवृत्तिमा १ हजार ३२२ जना तथा अपाङ्ग र आवासीय छात्रवृत्तिमा ४५५ जना विद्यार्थी लाभान्वित भएका छन्। यस्तै संस्थागत विद्यालयमा कक्षा १ देखि १० सम्म १९ हजार ३०६ जना र कक्षा ११ र १२ मा ३ हजार ८०१ जना विद्यार्थीले छात्रवृत्ति पाएका छन्।

शिक्षा विभागले सार्वजनिक गरेको वार्षिक प्रगतिविवरणअनुसार यस वर्ष ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन्। कक्षा १ देखि १२ सम्मका ५६ हजार ३०१ जना विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक वितरण गरिएको छ भने ५८ हजार ७३९ जना विद्यार्थीले नियमित दिवा खाजा पाएका छन्।

यसैगरी, सेनिटरी प्याड प्रयोग गर्ने उमेर समूहका १७ हजार ६८९ जना छात्रालाई निःशुल्क सेनिटरी प्याड उपलब्ध गराइएको छ, जसका कारण छात्राको विद्यालय उपस्थितिमा सुधार आएको महानगरले जनाएको छ।

शिक्षा क्षेत्रका लागि यस वर्ष ३ अर्ब २९ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा ५३.८ प्रतिशत अर्थात १ अर्ब ७७ करोड ३४ लाख रुपैयाँ खर्च भएको छ। संघीय सशर्त अनुदानतर्फ प्राप्त १ अर्ब ४२ करोड रुपैयाँमध्ये ९२.९ प्रतिशत खर्च भएको विभागले जनाएको छ।

‘गरी खाने शिक्षा’ महानगरको इच्छा कार्यक्रममा विनियोजित ६० करोडमध्ये ५ करोड १ लाख रुपैयाँ खर्च भएको छ भने शिक्षा क्षेत्रका स्वर्णिम योजनामा ११ करोड १४ लाख रुपैयाँमध्ये ४ करोड ३२ लाख रुपैयाँ खर्च भएको छ।

‘पुस्तकरहित शुक्रबार (बुक फ्री फ्राइडे)’ कार्यक्रमअन्तर्गत कक्षा ४ देखि ८ सम्मका १८ हजार २१८ जना विद्यार्थी सहभागी भए। ‘शिक्षामा सिप’ कार्यक्रमअन्तर्गत ५ हजार ११ जनाले कक्षा सम्पन्न गरेका छन्।

यस वर्ष ७७ वटा विद्यालयमा प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नति, ८२ वटा विद्यालयलाई सुन्दर विद्यालय निर्माण अनुदान प्रदान गरिएको छ। साथै १ हजार ४३ जना शिक्षकको क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ।

प्रारम्भिक बाल विकास केन्द्रको स्तरोन्नतिपछि बाल भर्नामा वृद्धि, एसईई परीक्षामा उच्च ग्रेड ल्याउने विद्यार्थीको संख्या बढ्नु, विद्यालयको भौतिक तथा वातावरणीय सुधार, विद्यार्थीको सिर्जनशीलता र सीप विकास हुनु यस वर्षका मुख्य उपलब्धि रहेको शिक्षा विभागले जनाएको छ।

महानगरपालिकाभित्र ७८४ वटा शैक्षिक संस्था सञ्चालनमा छन्। यसमा आधारभूत, माध्यमिक, विशेष, वैकल्पिक, धार्मिक विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रहरू समावेश छन्।

यस वर्ष सामुदायिक विद्यालयमा ६२ हजार ८८ जना र संस्थागत विद्यालयमा २ लाख २१ हजार ६४४ जना गरी कुल २ लाख ८३ हजार ७३२ जना विद्यार्थी अध्ययनरत छन्।

महानगरपालिकाभित्र शिक्षक, सहजकर्ता, विद्यालय सहयोगी, प्राविधिक प्रशिक्षक र भाषा सहायकसहित २ हजार ३०३ जना जनशक्ति कार्यरत छन्।

शिक्षा विभागका अनुसार प्रविधिमैत्री कक्षा, प्राविधिक धारमा पहुँच, छात्रवृत्तिको पूर्ण कार्यान्वयन र विद्यार्थीको उपस्थितिमा वृद्धि यस वर्षका महत्वपूर्ण उपलब्धि हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै