पोखरामा पुस १३ देखि १७ गतेसम्म २७औँ पोखरा सडक महोत्सव हुँदै
काठमाडौं।पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा आगामी पुस १३ देखि १७ गतेसम्म २७औँ संस्करणको पोखरा सडक महोत्सव आयोजना हुने भएको छ।अंग्रेजी नयाँ वर्ष जनवरी १ लाई लक्षित गरी रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराको आयोजनामा फेवाताल किनारको लेकसाइड क्षेत्रमा करिब ३.५ किलोमिटर लामो सडक खण्डमा महोत्सव सञ्चालन गरिने जानकारी जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो।


रेवान पोखराका संयोजक वसन्त गौतमका अनुसार ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने मूल नारासहित आयोजना हुँदै आएको यस महोत्सवले नेपाली खाना, संस्कृति र सङ्गीतको प्रवर्द्धनसँगै पोखराको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
एक समय अंग्रेजी नयाँ वर्ष मनाउन नेपाली पर्यटक भारतको गोवा र थाइल्याण्ड जाने प्रचलन रहे पनि पोखरा सडक महोत्सवले पोखरालाई अंग्रेजी नयाँ वर्ष मनाउने प्रमुख गन्तव्य’का रूपमा स्थापित गर्न सफल भएको गौतमले बताए। “आज यो महोत्सव पोखराको पर्यटन पहिचान र प्रवर्द्धनमा बलियो ब्रान्डका रूपमा विकास भइरहेको छ, उनले उल्लेख गरे।
विसं २०७२ को विनाशकारी भूकम्प, कोभिड–१९ महामारी तथा पछिल्ला विभिन्न आन्दोलनजस्ता चुनौतीका बाबजुद पनि महोत्सव निरन्तर रूपमा आयोजना हुँदै आएको जनाउँदै उनले प्रत्येक सङ्कटपछि सुस्ताएको पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्न तथा ‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउन महोत्सवले उल्लेखनीय भूमिका खेलेको बताए।


यसैगरी पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपी भट्टराईले महोत्सवले जाडोयाममा सुस्ताउने पर्यटन व्यवसायलाई चलायमान बनाउने विश्वास व्यक्त गरे।साथै स्थानीय कृषिउपज, हस्तकला र घरेलु सामग्रीको प्रवर्द्धन तथा बजारीकरणमा समेत सहयोग पुग्ने उनको भनाइ छ। क्रिसमस र नयाँ वर्षको अवसरमा विदेशी पर्यटकलाई नेपालमै आकर्षित गरी विदेशी मुद्रा आर्जनमा योगदान पुग्ने अपेक्षा पनि उनले व्यक्त गरे।
यस वर्ष पोखरा महानगरपालिकाले घोषणा गरेको ‘पोखरा भ्रमण वर्ष २०२५’सँग सहकार्य गर्दै महोत्सव आयोजना हुन लागेको आयोजकले जनाएको छ।
महोत्सवका प्रमुख आकर्षणमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी तथा नृत्य, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकार समेटिएको फुड फेस्टिभल, ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति, लोकदोहोरी, फेवातालमा बोट रेस, वेटर रेस, रस्साकस्सी, पर्यटनसम्बन्धी टक शो, वृत्तचित्र तथा फोटो प्रदर्शनी रहेका छन्।
महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि रहेको छ भने सह–प्रायोजकमा बोटलर्स नेपाल (तराई) लिमिटेड, दि नेपाल डिस्टिलरी प्रालि, यति डिस्टिलरी प्रालि तथा नेपाल टेलिकम रहेका छन्। सिद्धार्थ बैंक बैंकिङ पार्टनरका रूपमा रहेको आयोजकले जनाएको छ।













