काठमाडौंमा निःशुल्क पर्यटन फोटो पत्रकारिता तालिम सुरु – Sagarmathapana:: Online News Portal

काठमाडौंमा निःशुल्क पर्यटन फोटो पत्रकारिता तालिम सुरु

   २०८२ पुष २ गते  

काठमाडौं-बागमती प्रदेशमा पर्यटन र फोटो पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौंमा निःशुल्क पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र नेपाल पर्यटन बोर्डको संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) अन्तर्गत राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सहकार्यमा दुई दिने तालिम सञ्चालन गरिएको हो।

तालिमको उद्घाटन सत्रमा शुभकामना व्यक्त गर्दै परियोजना प्रबन्धक धर्मराज दवाडीले यस तालिमले नेपालका पर्यटनसम्बन्धी कथालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले दिगो पर्यटन परियोजनाले मुख्य रूपमा अपि–सैपाल, मनास्लु र कञ्चनजंघा पदमार्गलाई लक्षित गरी पूर्वाधार विकास, सेवाको गुणस्तर सुधार तथा विभिन्न तालिम र अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।

“पर्यटन क्षेत्रमा संलग्न जनशक्तिको क्षमता अभिवृद्धि गर्दै मानव स्रोतको अभाव पूर्ति गर्नु हाम्रो लक्ष्य हो,” दवाडीले भने। पत्रकारहरूलाई प्रदान गरिएको यो तालिमले नेपालका पर्यटकीय गन्तव्य तथा पर्यटन उत्पादनको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरणमा समेत सहयोग पुग्ने उनको भनाइ थियो। साथै, नेपाल पर्यटन बोर्डले आगामी दिनमा पत्रकारहरूको क्षमता अभिवृद्धि, मल्टिमिडिया प्रवर्द्धन र गन्तव्य–केन्द्रित डिजिटल अभिलेखनलाई प्राथमिकतामा राखेको जानकारी पनि उनले दिए।

कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का अध्यक्ष प्रदीपराज वन्तले पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। “सिकाइ कहिल्यै अन्त्य हुँदैन। तपाईंहरूले क्यामेरामा कैद गर्ने तस्बिरहरूले नेपाललाई विश्व पर्यटन मानचित्रमा अझ मजबुत रूपमा स्थापित गर्नेछ,” उनले भने।

नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलिप प्रकाश कार्कीले बोर्डको उद्देश्य, पर्यटन पत्रकारिताको आधारभूत प्रक्रिया तथा यसको प्रभावकारिताबारे प्रशिक्षण दिएका थिए। त्यस्तै, प्रशिक्षक प्रदीपराज वन्तले फोटो पत्रकारिताको इतिहास, तस्बिर खिच्दा आवश्यक प्राविधिक ज्ञान र सीपबारे जानकारी गराए।

अर्का प्रशिक्षक सुनिल चुडामणी बज्राचार्यले क्यामेराको इतिहास, क्यामरा सञ्चालनका प्राविधिक तरिका, फोटो फिचर तयारी तथा तस्बिरको महत्वबारे प्रशिक्षण दिएका थिए।

तालिमको दोस्रो दिन बुधबार तस्बिर कथाको व्यवहारिक पक्षमा केन्द्रित प्रशिक्षण दिइनुका साथै फिल्ड भिजिट गराइने कार्यक्रम रहेको छ। तालिममा बागमती प्रदेशका सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे लगायत विभिन्न जिल्लाबाट ३० जना पत्रकारहरूको सहभागिता रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै