नेपाल कृषि अर्थशास्त्र समाजको १९औँ साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन – Sagarmathapana:: Online News Portal

नेपाल कृषि अर्थशास्त्र समाजको १९औँ साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

   २०८२ पुष १ गते  

काठमाडौं।नेपाल कृषि अर्थशास्त्र समाज (Nepal Agricultural Economics Society) को १९औँ साधारण सभा काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ । सभामा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियार प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो भने नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वप्रकाश पौडेल विशिष्ट अतिथि रहनु भएको थियो ।

कार्यक्रमका की–नोट स्पिकर टेक्सास टेक युनिभर्सिटी, अमेरिका का प्राध्यापक डा. कृष्ण प्रसाद पौडेल रहनु भएको थियो । साथै, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र मिश्र र पूर्व कृषि मन्त्री टेक बहादुर थापाले कृषि रूपान्तरणका विषयमा आफ्ना धारणा प्रस्तुत गर्नु भएको थियो ।

साधारण सभामा संस्थाका सल्लाहकार डा. गणेशराज जोशी, मुक्तिनाथ कृषि कम्पनीका डेपुटी सिइओ रामशरण तिमिल्सिना लगायत विभिन्न क्षेत्रका विज्ञ, कृषि अर्थविज्ञ तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सभाको अध्यक्षता निर्वतमान अध्यक्ष डा. योगेन्द्र कार्कीले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन डा. होमा न्यौपाने र सृजना तिमिल्सिनाले गर्नु भएको थियो ।

साधारण सभाबाट १० सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । नवगठित कार्यसमितिको अध्यक्षमा डा. देवेन्द्र गौचन, महासचिवमा प्राध्यापक डा. ऋषिराम कट्टेल तथा उपाध्यक्षमा डा. सुधा सापकोटा चयन हुनु भएको छ । यसैगरी, कार्यसमितिमा ३ जना डाइरेक्टर र ४ जना सदस्य रहेका छन् ।

संस्थाले लैङ्गिक समानतालाई प्राथमिकतामा राख्दै उपाध्यक्षसहित १ जना डाइरेक्टर, १ जना कोषाध्यक्ष तथा १ जना सदस्य पदमा महिला कृषि अर्थविज्ञहरूको प्रतिनिधित्व सुनिश्चित गरेको जनाएको छ । साथै, नवगठित कार्यसमितिले थप ३ जना सल्लाहकार चयन गरेको छ, जसमा निर्वतमान अध्यक्ष डा. योगेन्द्र कार्की, प्राध्यापक डा. पुण्य प्रसाद रेग्मी र निर्वतमान उपाध्यक्ष राम पुलामी रहनु भएको छ ।

संस्थाले भावी कार्ययोजनाअन्तर्गत विभिन्न सरोकारवाला संघ–संस्थासँग सहकार्य गर्दै नीतिगत कृषि रूपान्तरणका विषयमा बहस तथा छलफल सञ्चालन गर्ने, कृषि अर्थशास्त्रसम्बन्धी अध्ययन तथा अनुसन्धानलाई जर्नलमार्फत प्रवर्द्धन गर्ने र युवालाई लक्षित गरी संरचनात्मक तथा ढाँचागत कृषि विकासका लागि पहल तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै