लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरण : छिमेकी ५५ वर्षीय पुरुष पक्राउ – Sagarmathapana:: Online News Portal

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरण : छिमेकी ५५ वर्षीय पुरुष पक्राउ

   २०८२ मंसिर २१ गते  

मोरङ- लेटाङ नगरपालिका–२ स्कूलचोककी १३ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या प्रकरणमा संलग्न रहेको आरोपमा एक जना अभियुक्त पक्राउ परेका छन्। लामो समयदेखि गरिएको अनुसन्धानपछि प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पहिचान गरी सार्वजनिक गर्ने तयारी गरेको हो।

आइतबार बिहान ११ बजे पत्रकार सम्मेलन गर्दै प्रहरीले घटनामा संलग्नलाई सार्वजनिक गर्नेछ। प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति अंशुका छिमेकी ५५ वर्षीय पदमबहादुर अधिकारी रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

अंशु असोज २१ गते साँझ घर नजिकै पिङ खेलेको स्थानबाट बेपत्ता भएकी थिइन्। बेपत्ता भएको १८ दिनपछि उनी बेलबारी–चिसाङ साझेदारी वनभित्र क्षतविक्षत अवस्थामा मृत फेला परेकी थिइन्। शरीर र टाउको छुट्टिएको तथा कपडा नभएको अवस्थामा भेटिएको शवको पहिचान घटनास्थलमा भेटिएका चप्पल र कपडाका आधारमा गरिएको थियो।

डीएनए परीक्षणले समेत शव अंशुको नै भएको पुष्टि गरेको थियो।

शव अत्यधिक क्षतविक्षत अवस्थामा भेटिनु, टाउको छुट्टिनु लगायतका कारणले अनुसन्धान अत्यन्त जटिल बनेको प्रहरीले जनाएको छ। जंगली जनावरको आक्रमणसमेत भएको हुनसक्ने अनुमान गरिए पनि बलात्कारपछि हत्या गरिएको प्रारम्भिक निष्कर्ष प्रहरीले अघि सारेको थियो।

अंशुसँग मोबाइल नभएकाले ट्र्याकिङ कठिन भएको थियो। उनी साँझ साढे ५ बजेपछि कसैले नदेखेपछि स्थानीयले रातभर खोजी गरे तर भेट्टाउन सकेनन्।

शव भेटिएको केही दिनमै अधिकारी भारत गएको स्थानीयले बताइएको छ। प्रहरीसँग निरन्तर सम्पर्कपछि मात्र उनी नेपाल भित्रिएको र त्यहीक्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार अधिकारी खोजीमा समेत सक्रिय देखिएका थिए, जसले घटनाप्रति थप शंका जन्माएको थियो।

पोस्टमार्टमपछि पनि परिवारले ‘न्याय नपाएसम्म शव नबुझ्ने’ निर्णय गरेको भएका कारण अंशुको शव १३ दिनदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा राखिएको छ।

घटनाको संवेदनशीलता हेरी मोरङ प्रहरी, प्रदेश प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (CIB) समेतको सहकार्यमा अनुसन्धान अघि बढाइएको थियो।

मोरङ प्रहरीले मोबाइल सिग्नल, स्थानीय आवागमन, परिवार, शिक्षक तथा छिमेकीका बयानलगायत सबै संभावना सूक्ष्म रूपमा विश्लेषण गर्दै आएको छ।

कञ्चनपुरकी निर्मला पन्तको प्रकरणझैँ ‘अपराधी नखुल्ला कि’ भन्ने स्थानीयको डर रहेको बेला प्रहरी टोलीले विस्तृत अनुसन्धानपछि अभियुक्त पहिचान गर्न सफल भएको जनाएको छ।

अंशु लेटाङको लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन्।

यो घटनाले स्थानीय क्षेत्रमा ठूलो असर पारेको छ र न्यायिक निष्कर्षका लागि सबैको ध्यान अनुसन्धानतर्फ केन्द्रित रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै