पोर्चुगलमा चासोक तङ्नाम ५०८५ भव्य रूपमा मनाइने
लिस्बोन-किरात याक्थुङ चुम्लुङ पोर्चुगलले लिम्बूहरूको महान चाड चासोक तङ्नाम ५०८५ को उपलक्ष्यमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। आउँदो डिसेम्बर ८, सोमबारका दिन लिस्बोनस्थित City Vokmundo मा विशेष कार्यक्रम हुने जानकारी चुम्लुङका अध्यक्ष रूकमान केरुङले दिएका छन्।
कार्यक्रममा चर्चित गायक नरेश तुम्बाहाम्फे (फुर्के लाहुरे) तथा मधुर आवाजकी धनी गायिका मिजिरा सम्बाहाम्फेको आकर्षक साँगीतिक प्रस्तुति रहने जनाइएको छ।

चासोक (न्वागी पूजा) अथवा उँधौलीलाई लिम्बू समुदायले परिश्रमको फल भोग्ने पवित्र समयका रूपमा मनाउँछन्। ‘चासोक’ शब्दको अर्थ न्वागी तथा ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ। लिम्बू समुदायलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनिन्छ।
अध्यक्ष केरुङका अनुसार ‘याक्थुङ मुन्धुम’ मा चासोकको उद्गमबारे विस्तृत वर्णन पाइन्छ। मुन्धुम अनुसार कृषि युगअघि आदिम याक्थुङ्वा पूर्खा सावायेत्हाङ ले जङ्गलमा पाइने कन्दमूल काँचै खाएर जीविका चलाउँथे, जसका कारण कुपोषण र विभिन्न रोगले पीडित बन्थे। त्यसबाट मुक्ति पाउन उनले प्रकृतिको प्रतीक तागेरा निङ्वाफुमाङ को पूजा गरेका थिए।
पछिल्ला दिनमा पत्ता लागेका पेनारमाङदःक् (कोदो), परामा, ताक्मारु (घैया धान), तुम्री (जुनेलो) लगायतका अन्नका बीउबिजनलाई महिलाहरू सिवेरा एक्थुक्मा र सिवेरा यावुङ्केक्मा ले खोरिया फाँडेर छरेपछि सामूहिक खेतीको सुरुवात भएको कथन मुन्धुममा पाइन्छ। यिनै महिलाले अन्नबाली पाकाएर खाने प्रणाली विकास गराएको विश्वास गरिन्छ। यही योगदानका प्रतीकस्वरूप चासोक अवसरमा पहिलो चढोत्तरी सिवेरा याक्थुङ्मा (युमा) लाई अर्पण गरिन्छ।
नेपाल, भारत, हङकङ, संयुक्त अधिराज्य, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका तथा विभिन्न युरोपेली मुलुकमा रहेका लिम्बू समुदायले पनि जातीय भेषभूषा, नाचगान र सांस्कृतिक कार्यक्रमसहित चासोक तङ्नाम मनाउँदै आएका छन्। यसै क्रममा पोर्चुगलमा पनि यस वर्ष भव्यरूपमा कार्यक्रम गर्न तयारी पूरा भइसकेको अध्यक्ष केरुङले जनाएका छन्।












