युवा खेलाडी गुलशन झा संस्कृति स्पोर्ट्स सम्मानबाट सम्मानित
काठमाडौं।संस्कृति इन्टरनेशनल स्कुलले आयोजना गरेको वार्षिक स्पोर्ट्स डे–२०८१ को विशेष समारोहमा राष्ट्रिय क्रिकेटका उदीयमान खेलाडी गुलशन झालाई संस्कृति स्पोर्ट्स सम्मान–२०८१ प्रदान गरिएको छ। खेलकुद क्षेत्रमा निरन्तर प्रभावशाली योगदान पुर्याउँदै आएका झालाई रु. १ लाख १ हजार नगदसहित सम्मान गरिएको हो।
समारोहका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले सम्मानपत्र र नगद रकम हस्तान्तरण गर्दै झाको उपलब्धि, समर्पण र क्षमताको उच्च प्रशंसा गरे। मन्त्री गुप्ताले खेलकुदले युवालाई अनुशासित, सक्षम र आत्मनिर्भर बनाउने उल्लेख गर्दै यस्तो सम्मानले प्रतिभावान खेलाडीहरूलाई थप ऊर्जा र प्रेरणा दिने विश्वास व्यक्त गरे।
कार्यक्रममा विशेष अतिथि तथा खेलकुद पत्रकार मञ्चका प्रमुख उपाध्यक्ष प्रज्जवल वलीले संस्कृति स्कुलले खेलकुद प्रतिभा पहिचान र प्रोत्साहनमा देखाएको निरन्तरता प्रशंसनीय रहेको बताए। उनका अनुसार, प्रत्येक वर्ष खेलकुद पत्रकार मञ्च र संस्कृति स्कुलले संयुक्त रूपमा उत्कृष्ट खेलाडी छनोट गर्दै सहकार्य गर्दै आएको छ।
संस्कृति स्कुलले यसअघि पहिलो संस्करणमा धाविका सन्तोषी श्रेष्ठ, दोस्रो संस्करणमा क्रिकेटर कुशल मल्ल, र तेस्रो संस्करणमा तैराक पलेशा गोवर्धनलाई सम्मान गरिसकेको छ।
समारोहमा बोल्दै स्कुलका अध्यक्ष रञ्जित आचार्यले खेलकुदमार्फत राष्ट्रको पहिचान विश्वभर पुग्ने बताउँदै योग्य तथा प्रतिभावान खेलाडीलाई निरन्तर हौसला प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे।












