आईआईटीएम २०२५ : नेपाल ‘वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्य’ सम्मानित – Sagarmathapana:: Online News Portal

आईआईटीएम २०२५ : नेपाल ‘वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्य’ सम्मानित

   २०८२ मंसिर १३ गते  

काठमाडौँ।भारतको पुणेमा सम्पन्न इण्डिया इन्टरनेशनल ट्राभल मार्ट (IITM)–२०२५ ले नेपाललाई ‘वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्य’ को रूपमा सम्मानित गरेको छ। नोभेम्बर २७ देखि २९ सम्म आयोजित मार्टको अवार्ड नाइट–२०२५ मा नेपाललाई यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो।

नेपाल पर्यटन बोर्डका तर्फबाट बोर्ड सदस्य नरेन्द्र भट्ट तथा वरिष्ठ अधिकृत नरायण बस्यालले अवार्ड ग्रहण गरेका थिए।

अवार्ड समारोहसँगै आयोजित ‘डेस्टिनेसन प्रेजेन्टेशन’ सत्रमा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत रोबिन रेग्मीले नेपालको पर्यटन सम्भावना, बुद्ध तथा रामायण सर्किट, अन्तरदेशीय इको–ट्रेल, विश्वस्तरीय ट्रेकिङ तथा हिमाल आरोहण, युनेस्को सूचीभित्रका सम्पदा क्षेत्र, आध्यात्मिक गन्तव्य र साहसिक खेलहरू समेटिएको अडियो–भिजुअल प्रस्तुति दिएका थिए।

उनका अनुसार नेपाललाई ‘All Season Destination’ र ‘Lifetime Experience’ का रूपमा प्रवर्द्धन गर्ने उद्देश्य बोकेर यसपटकको सहभागिता प्रभावकारी बनेको छ।

आईआईटीएम पुणे–२०२५ मा नेपाल पर्यटन बोर्डले १५ वटा प्रमुख ट्राभल ट्रेड कम्पनीहरूको सहकार्यमा भारतीय यात्रा व्यवसायी र प्रमोटरहरूका माझ नेपालका विशिष्ट पर्यटन प्याकेज तथा आकर्षणहरू प्रस्तुत गरेको थियो।

तीनदिने मार्टमा विश्वका विभिन्न मुलुकका सयौँ ट्राभल प्रतिनिधि, पर्यटन व्यवसायी र सम्भावित पर्यटकहरूको सक्रिय सहभागिता रहेको थियो। बोर्डका अनुसार नेपाल पवेलियनले नेपालका सांस्कृतिक सम्पदा, अतिथिसत्कार, साहसिक गन्तव्य र विविध पर्यटन उत्पादनलाई प्रस्तुत गर्ने सशक्त प्लेटफर्मका रूपमा काम गरेको छ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार यस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा बोर्डको सक्रिय उपस्थितिले नेपालप्रति भारतीय बजारमा चासो तथा माग उल्लेखनीय रूपमा बढ्ने छ।

उनले नेपाललाई भारतीय पर्यटकहरूको प्राथमिक गन्तव्यका रूपमा अझ मजबुत बनाउन आईआईटीएम जस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै