मलेसिया कर्निवल २०२५ काठमाडौंमा — स्वाद, संस्कृति र खेलकुदको झलक बौद्ध इन्टरनेशनल स्कूलमा
काठमाडौं-मलेसिया दूतावास,काठमाडौंले स्टडी प्लस प्रा.लि. र जोम नेपालको सहकार्यमा आयोजना गर्न लागेको मलेसिया कार्निवल २०२५ मङ्सिर १३ र १४ (बि.स. २०८२) मा बौद्ध इन्टरनेशनल स्कूल, अत्तरखेलमा हुने भएको छ। यस कर्निवलले मलेसियाको सांस्कृतिक विविधता,पर्यटन अवसर र व्यापारिक सम्भावनाहरू नेपालको दर्शकवर्गबीच परिचय गराउन मुख्य उद्देश्य लिएको छ।

आयोजकहरूका अनुसार कर्निवलमा मलेसियाका परम्परागत तथा आधुनिक स्वादका नास्ता परिकारहरूको प्रदर्शनी हुनेछ भने विशेष यात्रा प्याकेज,अफर तथा “भिजिट मलेसिया २०२६” अभियानअन्तर्गत आकर्षक पर्यटन जानकारी प्रदान गरिनेछ। त्यस्तै हस्तकला, शैक्षिक स्टल, इलेक्ट्रोनिक्स र ग्याजेट्सको प्रदर्शनीले पनि दर्शकको रुचि बढाउने अपेक्षा गरिएको छ।




युवा वर्गलाई लक्षित गर्दै कर्निवलमा रोचक खेलकुद प्रतियोगिताहरू पनि आयोजना गरिनेछ। प्रमुख खेलकुद तालिका यसप्रकार रहेको छ:
पहिलो हाई स्कूल बास्केटबल कप २०८२ (महिला टोली) — मङ्सिर १३ र १४
पहिलो हाई स्कूल फूटसल कप २०८२ (पुरुष टोली) — मङ्सिर १३ र १४
पहिलो भेटेरन बास्केटबल कप २०८२ (पुरुष टोली) — मङ्सिर १३ र १४
आयोजकहरूले यस कर्निवलमार्फत नेपाली र मलेसियाली समुदायबीच साँस्कृतिक आदानप्रदान, शैक्षिक सहयोग र पर्यटन प्रवर्धनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्। दूतावासका प्रतिनिधिले भनेका छन् — “यो कर्निवलले मलेसियाको जीवनशैली र पर्यटन सम्भावनाहरू प्रत्यक्ष रूपमा प्रस्तुत गर्नेछ र नेपाली यात्रुहरूबीच मलेसिया सम्बन्धी चासो थप वृद्धि गर्ने छ।

आयोजकहरूले अनुमान गरेका छन् कि दुवै दिनमा करिब ३,००० भन्दा बढी आगन्तुक उपस्थित हुने सम्भावना छ जुन प्रतिष्ठित विद्यालय–कलेजका विद्यार्थी, अभिभावक तथा कर्पोरेट क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहने छ। सहभागीहरूसँग नेटवर्किङ, यात्रा योजना तथा अध्ययन सम्बन्धी सल्लाह लिन सहज अवसर मिल्नेछ।
कर्निवलमा सहभागी हुन चाहने विद्यालय, टोली र सर्वसाधारणका लागि आवश्यक सूचना तथा सहभागिता फारमको व्यवस्था छ। थप जानकारी र सहभागिताका लागि मलेसिया दूतावास, काठमाडौं तथा आयोजना समन्वयकर्ताहरूको आधिकारिक सूचनालाई अनुगमन गर्न आयोजकहरूले अनुरोध गरेका छन्।












