हङकङको ताई पोमा भीषण आगलागी : मृतक संख्या ४४, दुई सयभन्दा बढी बेपत्ता
हङकङ-हङकङको ताई पो जिल्लास्थित एक ठूला आवासीय परिसरमा भीषण आगलागी हुँदा कम्तिमा ४४ जनाको मृत्यु भएको छ। सातवटा भवनमा फैलिएको आगोका कारण ठूलो जनधनको क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अग्नि सेवा विभागका अनुसार आगो लाग्दा धेरै मानिस भवनभित्रै फसेका थिए। अहिलेसम्म २७९ जना बेपत्ता रहेको बताइएको छ। घटनासँग सम्बन्ध भएको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।



आगो परिसर बाहिर रहेको बाँसको मचानबाट फैलिएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागी ताई पोको वाङ फुक कोर्ट नामक आवासीय क्षेत्रमा भएको हो, जहाँ ४ हजारभन्दा बढी बासिन्दा बस्दै आएका छन्। तीमध्ये ठूलो संख्या ६५ वर्षभन्दा माथिका वरिष्ठ नागरिकहरू रहेको बताइन्छ।
३२ तले वाङ चेओङ हाउसमा आगो लागेको र सो भवन हाल मर्मतसम्भारमा रहेको जानकारी छ। आगो नियन्त्रणमा लिन १२८ दमकल, ५७ एम्बुलेन्स र करिब ८८८ जनाको उद्धार टोली परिचालन गरिएको थियो।
दमकलकर्मीहरूले घण्टौंको प्रयासपछि आगो नियन्त्रणमा ल्याएको भए पनि ठूलो मानवीय क्षति पुगेको पुष्टि भएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।

















