धादिङको त्रिपुरासुन्दरी माईको भव्य सवारी: मूलमन्दिरबाट माइतीसम्म विशेष पूजा र बाजागाजासहित सम्पन्न
धादिङ-धादिङको त्रिपुरासुन्दरी गाउँ पालिकामा परम्परागत रूपमा आयोजना गरिने त्रिपुरासुन्दरी माईको भव्य सवारी यस वर्ष पनि अत्यन्तै उत्साहका साथ सम्पन्न भएको छ। गाउँपालिकाको वडा नं. ४, सल्यानकोट स्थित मूल मन्दिरबाट माईको मूर्ति विशेष पूजा–अर्चना तथा बाजागाजाका साथ वडा नं. ६, सल्यानवेसी (माइती) तर्फ पुजारीद्वारा बोकी लैजाँदै सवारी गरिएको हो। सांस्कृतिक मौलिकता, धार्मिक आस्थालाई जगेर्ना गर्ने उद्देश्यले आयोजना हुने यस विधिलाई स्थानीय बासिन्दा र भक्तजनहरूको ठूलो सहभागिताले अझै भव्य बनाएको थियो।



बिहानै मूल मन्दिरमा विशेष पूजा, मन्त्रपाठ र आरती सम्पन्न गरिएपछि पुजारीले मूर्तिलाई परम्परागत विधिअनुसार सवारीका लागि तयार पारे। त्यसपछि डमरु, नर्सिङ्गा, ठुला बाजा, तथा धार्मिक गीतसहितको जुलुस अग्रसर भयो। यात्रा क्रममा विभिन्न स्थानमा हवन, फूल–माला अर्पण र भेटपूजा गरिँदा वातावरण अत्यन्त धार्मिक र श्रद्धामय बनेको थियो।
त्रिपुरासुन्दरी माईलाई स्थानीय समुदायले शक्ति, संरक्षण र कल्याणको प्रतीकका रूपमा पूज्ने गर्दछन्। मूल घर (मन्दिर) मा रहेको मूर्ति माइती (सल्यानवेसी) पुर्याउने यो परम्परा एकता, सद्भाव र पुर्खाले स्थापना गरेको संस्कृतिको संरक्षणको प्रतीक हो। स्थानीयहरूको विश्वास अनुसार माईको वार्षिक सवारीले गाउँ–समुदायमा शान्ति, उन्नति र सुरक्षा प्रदान गर्छ।


सवारीको व्यवस्थापन स्थानीय प्रशासन, गाउँपालिका, सुरक्षाकर्मी तथा स्वयंसेवक टोलीले संयोजित रूपमा गरेका थिए। भीड व्यवस्थापन, ट्राफिक नियन्त्रण, प्राथमिक उपचार, र आकस्मिक सहयोगका लागि छुट्टै टोली परिचालन गरिएको थियो, जसले सम्पूर्ण कार्यक्रमलाई सहज र सुरक्षीत बनायो।
गाउँपालिका अध्यक्ष राजु उप्रेतीले सवारीबारे जानकारी दिँदै भन्नुभयो,
“त्रिपुरासुन्दरी माईको सवारी हाम्रो परम्परा, विश्वास र सामुदायिक एकताको सुन्दर प्रतिक हो। यस सांस्कृतिक धरोहरलाई सुरक्षित राख्न र अर्को पुस्तासमक्ष पु-याउन गाउँपालिका प्रतिबद्ध छ। भविष्यमा धार्मिक–पर्यटन केन्द्रको रूपमा यस क्षेत्रलाई प्रवर्द्धन गर्ने योजनासमेत हामीसँग छ।
सवारीको दिन बजार क्षेत्रमा चहलपहल बढ्ने हुँदा किराना,पूजापाठ सामग्री, स्थानीय उत्पादन तथा हस्तकलाको माग उल्लेख्य रूपमा बढेको देखियो।यसले स्थानीय साना व्यवसायलाई प्रत्यक्ष आर्थिक फाइदा पुगेको व्यापारीहरूले बताए।















