राष्ट्रिय खाद्य बैंक लिमिटेडको प्रतिनिधि मण्डलद्वारा सरकारसँग संस्थागत सहकार्यको पहल
काठमाडौँ-राष्ट्रिय खाद्य बैंक लिमिटेडको प्रतिनिधि मण्डलले नेपाल सरकारका सरोकारवाला निकायहरूसँग संस्थागत सहकार्य र साझेदारीका लागि औपचारिक पहल गरेको छ।
यसै सन्दर्भमा माननीय कृषिमन्त्री डा.मदनप्रसाद परियार र माननीय अर्थमन्त्री श्री रामेश्वर खनालसँग सिंहदरबारस्थित मन्त्रालयमै विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।


कार्यक्रम कार्तिक २६ गते बुधबार र २७ गते बिहिबार, २०८२ मा दुई चरणमा सम्पन्न भएको हो। उक्त अन्तरक्रियामा राष्ट्रिय खाद्य बैंक लिमिटेडका पदाधिकारीहरूले कृषि उत्पादन, खाद्य सुरक्षाको सुदृढीकरण,भण्डारण प्रविधि, ग्रामीण आर्थिक सशक्तीकरण र सहकारी मोडलमार्फत देशव्यापी खाद्य आपूर्तिको दीर्घकालीन दृष्टिकोण प्रस्तुत गरेका थिए।

अन्तरक्रियाका क्रममा मन्त्रीज्यूहरूले खाद्य सुरक्षा सुनिश्चित गर्न निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकतामा राखिने बताएका छन्। मन्त्रालयहरूबीच आवश्यक नीतिगत तथा प्राविधिक समन्वयका लागि सकारात्मक संकेतहरू प्राप्त भएको प्रतिनिधि मण्डलले जनाएको छ।
राष्ट्रिय खाद्य बैंक लिमिटेडका अनुसार यो पहलले कृषि मूल्य श्रृंखला सुधार,किसानलाई बजार पहुँच र खाद्य संकलन केन्द्रहरू स्थापना गर्ने दिशामा ठोस कदम अघि बढाउने अपेक्षा गरिएको छ।












