महेश बस्नेतको प्रश्न : “सम्पत्ति शुद्धीकरणको छानबिन रामेश्वर खनाल र कुलमान घिसिङबाट सुरु हुने कि ?”
काठमाडौँ।नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा सांसद महेश बस्नेतले सरकारले सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) र भ्रष्टाचारविरुद्धको अभियान निष्पक्ष रूपमा सुरु गर्नुपर्ने बताएका छन्। उनले हालका अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङबाट नै छानबिनको सुरुवात गर्न माग गरेका छन्।

बस्नेतका अनुसार, पूर्वसचिवसमेत रहेका अर्थमन्त्री खनालले लामो समय सरकारी सेवा सम्हालेका कारण उनीमाथि पनि अनुसन्धान हुनु स्वाभाविक हो। “अर्थ मन्त्रालयकै प्रमुख भएर काम गरेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक गरेर नै पारदर्शिता देखाउनुपर्छ,” उनले भने।
त्यसैगरी, ऊर्जामन्त्री कुलमान घिसिङमाथि पनि दर्जनौं उजुरी दर्ता भएको बताउँदै बस्नेतले छानबिनको दायरामा उनी पनि पर्नुपर्ने बताएका छन्। “सरकारले मापदण्ड सबैका लागि बराबर राख्नुपर्छ। जसका विरुद्ध उजुरी छन्, उनीहरूबाटै अनुसन्धान सुरु गर्नुपर्छ,” उनको भनाइ थियो।
बस्नेतले अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका विषयमा “चयनात्मक” रूपमा अघि बढेको आरोपसमेत लगाएका छन्। उनका अनुसार, “कसैलाई बचाउने र कसैलाई फसाउने” नीति अपनाइए जनताले त्यसलाई अस्वीकार गर्नेछन्।












