सोल्टिनी’को शीर्षक गीत ‘दाजुको साली’ सार्वजनिक, भाइटिकामा रिलिज हुने तयारी – Sagarmathapana:: Online News Portal

सोल्टिनी’को शीर्षक गीत ‘दाजुको साली’ सार्वजनिक, भाइटिकामा रिलिज हुने तयारी

   २०८२ आश्विन १७ गते  

काठमाडौं।भाइटिकाको अवसर पारेर आउँदो कार्तिक ६ गतेदेखि प्रदर्शनमा आउने बहुप्रतिक्षित नेपाली चलचित्र ‘सोल्टिनी’ को शीर्षक गीत सार्वजनिक गरिएको छ।

‘दाजुको साली’ शीर्षक गीतलाई गायक एस.डी. योगीले स्वर दिएका छन् भने शब्द अर्जुन सुवेदी, सङ्गीत हर्कुलस बस्नेत र एरेन्ज उदय राज पौडेलको रहेको छ। गीतको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्।

गीतमा प्रकाश सपुत र परीक्षा लिम्बुसहित कलाकार सुन्दर धिताल, सब्बु गुरुङ र सुजन खतिवडाको अभिनय देख्न सकिन्छ। गीतले प्रेममा आएको रोमाञ्च र ग्रामीण जीवनशैलीको रमाइलोपनलाई चित्रण गरेको छ।

यसअघि सार्वजनिक टिजरमार्फत चलचित्रले प्रकाश र परीक्षाबीचको प्रेम, समाजको कठोर यथार्थ र बोल्ड निर्णयलाई देखाएको थियो।

चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। प्रमुख भूमिकामा रहेका प्रकाश, परीक्षा, सुन्दर, सब्बु र सुजनसँगै विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायतको पनि अभिनय रहनेछ।

चलचित्रको विशेष आकर्षणका रूपमा ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’ कार्यकारी निर्माता रहेका छन्, जसको नेतृत्व धरानका मेयर हर्क साम्पाङले गरिरहेका छन्।

‘सोल्टिनी’को छायाङ्कन सुशन प्रजापतिले गरेका हुन् भने कथा–पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईको हो। चलचित्रलाई रेजिना बिस्ट र संसार चौलागाईँले निर्माण गरेका हुन्। सह–निर्मातामा रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी छन्।

चलचित्र नेपालभर टि फल्क्स फिल्म्सले वितरण गर्ने भएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै